२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । बहुप्रतीक्षित विद्युत् विधेयक– २०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ ।

लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो ।

सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गर्नुभएको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता लिनुभएको थियो ।

संसदीय प्रक्रिया लामो हुने देखिएपछि संसद्को कार्यकालसमेत अन्तिम हुन लागेको अवस्थामा थप सहजीकरणका लागि अध्यादेश जारी गर्न लागिएको थियो । राष्ट्रपति कार्यालय पुगेको सो अध्यादेश जारी हुन सकेको थिएन ।

ऊर्जामन्त्री बस्नेतले सोमबार यसै साताभित्र सङ्घीय संसद्मा सो विधेयक पेश गरिने जानकारी दिनुभएको थियो । समयको मागअनुसार ऊर्जा क्षेत्रको समग्र विकास, विद्युत् व्यापार तथा आन्तरिक खपत वृद्धिलगायतका विषयलाई केन्द्रमा राखेर सो विधेयक अगाडि बढाइएको छ ।

हालसम्म विद्युत् ऐन, २०४९ अनुसार नै मुलुकको समग्र ऊर्जा क्षेत्र क्रियाशील थियो । सो ऐनलाई समयानुकूल बनाउनुपर्ने माग सरोकारवाला निकायले गर्दै आएका थिए । निजी ऊर्जा उद्यमीले पनि समयानुकूल कानून नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए ।

यस्तै, भन्सार विधेयक–२०८० लाई पनि सङ्घीय संसद्मा पेश गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले निजीकरण समितिको सदस्यमा सांसदद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई मनोनयन गरेको छ ।

यस्तै, सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ । नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा राहदानीबाहेकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय भएको छ । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । /f;;