• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

भारतको अरुणाचल प्रदेश आफ्नो भूमिमा समेटिएको नक्शा चीनले गर्यो सार्वजनिक



काठमाडौँ । चीनले भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूमिमा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले अरुणाचल र अक्साई चीनमा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

चाइना डेलीका अनुसार उक्त नक्सालाई २०२३ को चीनको स्टान्डर्ड नक्सा भनिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको बताइएको छ ।

चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । चीनले बेला–बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ ।

अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको चीनको नागरिक मामिला मन्त्रालयले यही अप्रिलमा अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो ।

यद्यपि भारतले चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ । दुई देशबीच पूर्वी लद्दाखलगायतका कैयौँ सीमा विन्दुलाई लिएर मतभेद छ ।

तीन वर्षअघि सीमा विवादलाई लिएर दुवै देशका सेनाबीच झडपसमेत भएको थियो । अझै पनि सीमा विवादको मुद्दाकै कारण दुई देशबीचको स्थिति सामान्य हुन सकेको छैन । सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।

तीन वर्षअघि गलवान झडपमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए ।