३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा
अ+ अ-

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमश: घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उहाँले बताउनुभयो ।

“सौराहा आउने अधिकांश हात्तीको गतिविधि अवलोकन गर्न आउँथे । कोही बच्चासँग खेल्थे, कोही सफारीमा जान्थे”, उहाँले भन्नुभयो, “तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ ।” यहाँका व्यवसायीले हात्ती थपेका छैनन् । स्वदेशी पर्यटक पनि घट्दै छन् । अहिले हात्ती सफारी गर्ने पर्यटक घटेसँगै हात्तीको सङ्ख्या पनि घटाएको उहाँले बताउनुभयो । उहाँले दुईवटा हात्ती घटाएर एउटा मात्र पाल्नुभएको छ ।

पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो । कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउनुहुन्छ । उहाँले पाल्न नसकेपछि दुईवटा हात्ती बेचेको बताउनुभयो । उहाँका अनुसार एउटा हात्ती पाल्न मासिक रु डेढ लाखदेखि दुई लाखसम्म खर्च हुन्छ । एउटा हात्तीका लागि दुई जना कामदार राख्नुपर्दछ । तर आम्दानी भने रु एक लाख पनि नहुने बताउनुभयो ।

तीन वर्षअघिसम्म सौराहामा हात्ती पनि थुप्रै देखिन्थे । तर पछिल्लो समयमा सौराहामा विगतजस्तो हात्तीको चाप छैन । विसं २०७७ सम्म निजी हात्ती सयभन्दा बढी रहेकामा अहिले ५० वटामा सीमित छन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले प्रत्येक वर्ष सौराहामा हात्तीको सङ्ख्या कम भइरहेको बताउनुभयो । उहाँका अनुसार चितवनमा सरकारी र निजी हात्ती गरी एक सय १० वटा हात्ती छन् । त्यसमध्ये जिल्लामा सरकारी हात्ती ६० वटा छन् । युनाइटेड हात्ती सञ्चालन सहकारीमा ३०, सपना भिलेजमा आठ, ओम रिजालका आठ र विदेशी नागरिकका चारवटा हात्ती रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राज्यको अर्थतन्त्रसँग जोडिएको पर्यटन उद्योगको बलियो खम्बाका रूपमा रहेका हात्ती संरक्षणका लागि राज्यले समेत ध्यान दिनुपर्छ ।”

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले नेपालमा आहार, खानपान र स्वास्थ्योपचारका हिसाबले हात्ती पाल्न मुस्किल रहेको जनाउँदै निजीस्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती संरक्षणमा चुनौती रहेको बताउनुभयो । मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण आवश्यक रहेको जनाउँदै उहाँले सरकारले निजीस्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । सरकारले निजीस्तरमा पालेको हात्तीको विवरण सङ्कलन गरिरहेको भन्दै नेपालमा एक सय ५० वटा हात्ती निजीस्तरमा पालेका हात्ती रहेको उहाँले जानकारी दिनुभयो । उहाँले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताउनुभयो । हात्ती सफारीबाट यहाँका सामुदायिक वनले आम्दानी गरेका थिए । तर पछिल्लो समय सामुदायिक वनको पनि आम्दानी घटेको छ ।

हात्ती लोपोन्मुख जनावर हो । सरकारले यसलाई किनबेच गर्न रोक लगाएको छ । यद्यपि व्यवसायीले रु ८० लाखदेखि एक करोडसम्ममा यसको किनबेच गर्ने गर्दछन् । यहाँका व्यवसायीले पाल्न नसकेपछि हात्तीलाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपालमा जङ्गली र घरपालुवा गरेर सात सयको हाराहारीमा हात्ती रहेको अनुमान छ । रासस