१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो: अध्यक्ष खनाल

टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो: अध्यक्ष खनाल
अ अ+ अ-

काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।

कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।

नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढङ्गले प्रचार–प्रसार गरिएको उहाँको भनाइ छ ।

टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना सङ्कलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार–प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना सङ्कलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको बताउनुहुन्छ ।

“सम्बन्धित कम्पनीले हामीलाई दिएको प्रमाणपत्रमा स्पष्टसँग के गर्ने भन्ने उल्लेख छ, त्यो सेवाप्रदायक कम्पनीहरूले पनि हेर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यक विशेषता (कस्टमाइज्ड डिजाइन) मात्रै राखेर कानुनसम्मत खरिद गरेका हौँ ।” उहाँले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँगको सहकार्यमा हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार यदि कल डिटेललगायतका सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो । यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ ।

“प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन रु उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैन लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो”, उहाँले भन्नुभयो, “तर सेवाप्रदायकले भने विभिन्न बाहनामा आनाकानी गरेको अवस्था छ ।”

उहाँका अनुसार उक्त प्रविधि जडान तथा सञ्चालनका लागि हुने खर्च पनि प्राधिकरण आफैँले व्यहोर्ने छ । “प्राधिकरणले सम्बन्धित कम्पनीलाई लाइसेन्स दिँदा जुन काम गर्नका लागि भनेर अनुमति दिइएको थियो सोहीअनुसार सेवाको पहुँच, गुणस्तर र शुल्क लिइएको छ वा छैन भन्ने हेर्छौँ मात्रै भनिएको हो, सेवाप्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य हो ।”

प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने प्राधिकरणको भनाइ छ । यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ ।

साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल वाइपासबारे पनि अनुगमन गर्नेछ । प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको बताएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७८/७९ मा टेलिकम क्षेत्रको कारोबार रु २१ अर्बले घटेको छ । आव २०७४/७५ मा रु ९८ अर्ब ६८ करोडको कारोबार भएकामा आव २०७८/७९ मा आइपुग्दा कारोबार रकम रु ७७ अर्ब पाँच करोडमा सीमित भएको छ । त्यसैगरी आव २०७५र७६ मा एक करोड ४५ लाख ग्राहक रहेकामा आव २०७८/७९ मा आपुग्दा यो सङ्ख्या बढेर दुई करोड ७१ लाख पुगेको छ ।

“ग्राहकको सङ्ख्यासँगै डाटाको प्रयोग बढ्दै जाने तर आम्दानी कसरी कम भइरहेको छ भन्नेबारे टेरामोक्स प्रविधिले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो, “यदि कुनै समस्या भए वा कल बाइपास हुँदा कारोबारमा कमी आएको भए यसले निगरानी तथा अनुगमन गर्नेछ ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म रु १२ अर्बभन्दा बढी राज्यको आम्दानी गुमेको छ । “सिआइबीको पहुँच बाहिरको राजस्वको कुनै हिसाब–किताब हुनसकेको छैन । अत: यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान र अतिआवश्यक देखिन्छ”, प्राधिकरणले जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।

अध्यक्ष खनालका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय, घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक सङ्ख्या विस्तार हुँदा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटक–पटक कम्पनीहरूको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तरका सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको भन्दै प्राधिकरणले टेरामोक्स प्रविधिको कार्यान्वयनमा जोड दिएको हो ।

खनालले टेलिकम सेवा प्रदायकले दिने सेवा ‘कार्पेट कभरेज’ हुनुपर्ने बताउनुभयो । कार्पेट कभरेज अर्थात् कुनै कोठामा कार्पेट लगाउँदा सबै क्षेत्र समानरूपले समेटिएजस्तै टेलिकमको सेवा पनि गुणस्तरीय र समान हुनुपर्ने बताउनुभयो ।

हाल कुन सेवाप्रदायकको नेटवर्कमा कति सङ्ख्यामा कल आए र त्यसवापतको पैसा कहाँ र कति आयो भन्ने पनि टेरामोक्सले हेर्छ । हाल टेलिकम सेवाप्रदायकबीच ग्राहकको गोपनीयता कायम गर्नका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरेका हुन्छन् । तर प्राधिकरणले टेरामोक्स प्रविधिमार्फत त्यसको स्रोत खोज्ने उहाँको भनाइ छ ।

उहाँले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुनेमा विश्वास व्यक्त गर्नुभयो । “यो प्रविधिले कुन क्षेत्रमा कस्तो सेवा प्रवाह भइरहेको छ भन्ने ‘भोल्युम’मा अध्ययन गर्छ, साथै सोहीअनुसार हामीले त्यस्ता सेवा प्रदायकलाई गुणस्तर सुधारका लागि भन्न सक्छौँ”, अध्यक्ष खनालले भन्नुभयो । उहाँका अनुसार अहिले राजधानी काठमाडौँका कतिपय स्थानमा टेलिकम सेवाप्रदायकको गुणस्तरको समान उपलब्धता नभएको गुनासो प्राधिकरणमा आउने गरेको छ ।

प्राधिकणले श्वेतपत्रमा भनेको छ, “टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुको यथार्थ चित्रण गर्नुका साथै कल वाइपासबाट राज्यलाई अर्बौँको क्षति भइरहेकामा सो पत्ता लगाई यसको न्यूनीकरण गर्नका लागि टेरामोक्स प्रविधि आवश्यक भएको हो ।” दूरदराजका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौँसम्म सेवा प्रदायकले बिग्रिएका सेवा सञ्चालन नगर्ने, बेला–बेलामा टेलिकमको बिलिङमा समस्या आउनुलगायतका समस्या पत्ता लगाउन पनि यो प्रविधि आवश्यक भएको प्राधिकरणको दाबी छ ।

कमलकुमार बस्नेत/रासस