• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने



भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो ।

प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिनुभयो । यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचर्यको भनाइ छ ।

“हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “यो संरक्षण तथा प्रचार–प्रसार गर्नका लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ । यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ । यसले यो क्षेत्रको प्रचार– प्रसारमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।”

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताउनुभयो । नागछाँगा, गङ्गाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचार–प्रसारमा वडा कार्यालयले काम गरिएको उहाँको भनाइ छ ।

नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ”, उहाँले भन्नुभयो, “नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन् । यसको किंवदन्तीको खोजीमा लागेको छौँ ।”

दुई वडाको सिमनामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नं २ का वडाध्यक्ष राजकुमार तामाङले बताउनुभयो । स्थानीयस्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्यरूपमा चिनाउन नसकिएको उहाँको भनाइ छ । यसको प्रचार–प्रसारका लागि विभिन्न गतिविधिलाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । हेर्दा नै यो ठाउँ अनौठो रहेको उहाँले बताउनुभयो ।

ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो–कोही पनि अचम्मित हुने गरेका छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उहाँको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेकाले सोहीअनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताउनुभयो ।

“नागछाँगा एउटा प्रकृतिको उपहार हो”, अध्यक्ष राईले भन्नुभयो, “यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो । यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौँ । यसको पर्याप्त प्रचार–प्रसार हुनसकेको छैन । यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्र्रो योजना छ ।”

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ्ग भञ्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताउनुभयो । स्थानीय स्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताउनुभयो । रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ । पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उहाँले बताउनुभयो ।

“हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो”, उहाँले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ ।” नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ । रासस