५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले



अ+ अ-

कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् ।

गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।

ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ सडकमा निस्कनुभएको थियो । पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोकलगायतमा स्थानमा बिहानदेखि नै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

पर्यटकीय सहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षौंदेखि पहल भए पनि कार्यान्वयन हुन सकेको थिएन । विसं २०७७ मा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र चर्को भाडा तिनुपर्ने परेको व्यापक गुनासो आएको थियो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले कार्यान्वनयको पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बताउनुभयो । उहाँका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका एका/दुई ट्याक्सी चालकलाई सचेत गराइएको र आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुनेसमेत स्पष्ट पारेको छ ।

कार्यालय प्रमुख रिज्यालले भन्नुभयो, “पोखरामा ट्याक्सी मिटरमा सञ्चालन हुन सुरु भयो, राम्रोसँग कार्यान्वयन भएको पाइएको छ, मिटरमा सञ्चालन भए /नभएको बारेमा नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ ।” ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रतिदुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी रु ३७।५० का दरले भाडा लिनुपर्नेछ ।

मन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरे पनि लागू नभएको बताउनुभयो । उहाँले अब लागू गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री जुग्जालीले भन्नुभयो, “पहिला किन लागू भएन भनेर समेत हामीले समीक्षासमेत गरेका छौँ, अहिले लागू भएरै छाड्छ ।”

चालक मिटरमा चले/नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको जानकारी मन्त्री जुग्जालीले दिनुभयो । ट्याक्सी चालकले समेत मिटरमा चल्न कुनै अप्ठेरो नभएको बताएका छन् । इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा ट्याक्सी चालक जीवन बरालले बताउनुभयो । रासस




भर्खरै