१९ श्रावण २०८३, मंगलवार
,
Latest
सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ? अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्यनारायणमा भक्तजनको भीड



मत्स्यनारायण मन्दिर
अ+ अ-

काठमाडौँ । करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ ।

चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थानबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।

कीर्तिपुर नगरपालिकाको वडा नं ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिकरूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ । मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ । भगवान् विष्णुले भक्तलाई रक्षा पनि गर्नुभएको थियो ।

पूर्वकल्पमा ब्रह्माजीको मुखबाट निस्किएको वेदलाई मायावी दानवराज ह्यग्रीवले नष्ट गर्न खोजेपछि भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको विषय मत्स्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

पुरुषोत्तममासमा यहाँको कुण्डमा स्नान गरी मत्स्यरूपी भगवान् विष्णुको पूजा, आराधना एवं दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले महिनाभर यहाँ लाखौँ भक्तजन आउने गरेको मेला व्यवस्थापन समितिको सदस्यसमेत रहनुभएका ध्रुव बस्नेतले जानकारी दिनुभयो ।

यहाँको कुण्डमा वर्षामा पानी सुक्ने र हिउँदमा पानी आउने अनौठो दृश्यसमेत देखिने गरेको उहाँले सुनाउनुभयो । हालसम्म २० लाखभन्दा बढी भक्तजनले मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । साउन २ गते सुरु भएको पुरुषोत्तममास मेला साउन ३१ गते बुधबार सकिने समितिको संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

मूल मेला बुधबार सकिने भए पनि पूर्णाहुतिसहित मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते गरिने उहाँले जानकारी दिनुभयो । मेलाको सुरुका दिनमा भन्दा अन्तिम समयतिर धेरै भक्तजन मत्स्यनारायण मन्दिर क्षेत्रमा आएको जनाइएको छ । मत्स्यनारायण शब्द अहिले अपभ्रंश भएर मच्छेनारायण भएको छ । रासस




भर्खरै