१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।

आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२० रग्बी सेभेन्स शुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् । यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किए नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रंगशालामा अभ्यास गरिरहेका छन् ।

श्रीलंका र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन् । पुरुषतर्पm नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ । त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन् ।

महिलातर्पm भने राउण्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ । महिलातर्पm २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । पुरुषतर्पm पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रश्तुत गर्दैछ । पुरुषतर्पm पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा साबित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आएका छन् ।

श्रीलंकाली प्रशिक्षक विजेसिंघेले प्रतियोगिताका तयारीका लागि संघले आवश्यक पक्षमा राम्रो काम गरेको र सोही अनुरूप खेलाडीले पनि मेहनत गरेकाले सुखद् नतिजा ल्याउने बताउनु भयो ।

एशिया यु–१८ रग्बी सेभेन्स सफलतापूर्वक आयोजना गरेपछि नेपालसँग खुशी हुँदै एशिया रग्बीले दोस्रो ठूलो आयोजनाको जिम्मेवारी सुम्पिएको हो । विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेपछि नेपालले एशियाली रग्बीको ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्दैछ । उक्त आयोजनालाई नतिजामुखि बनाउने नेपाली यु–२० पुरुष रग्बी टोलीका कप्तान रोहन डंगोलको विश्वास छ ।

दशरथ रंगशालामा नै भएको पछिल्लो यु–१८ संस्करण नेपाली महिला टोलीका लागि त्यति यादगार बन्न सकेको थिएन । छोटो र प्रभावकारी तयारी बिना नै पछिल्लो संस्करण खेलेको नेपाली महिला टोलीले यसपटक पर्याप्त समय पाएका छन् । त्यसैले पनि यसपटक एशिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको महिला यु–२० टोलीकी कप्तान प्रिया तामाङको विश्वास छ ।

उक्त प्रतियोगिताका लागि मंगलवारबाट विदेशी टोली नेपाल आएका छन् । प्रतियोगिताको आयोजनाको मिति नजिकिँदै गर्दा नेपालले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले पनि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो ।

लगातार एशियाको दुई ठूलो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै एसिया रग्बीमा आफ्नो छाप छोड्ने लक्ष्य नेपाल रग्बी संघको छ । साथै पर्याप्त प्राविधिक जनशक्तिमा कमजोर नेपाल यस प्रतियोगिताबाट त्यसको अभाव केही मात्र पूर्ति गर्ने योजनामा पनि छ । नेपालमा हुने रग्बीको यो ठूलो प्रतियोगितालाई सदुपयोग गर्दै हामी दक्ष प्राविधिकको उत्पादनमा समेत ध्यान दिएर संघले काम गरिरहेको नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो ।

यो आयोजना लगत्तै नेपाल रग्बी संघ एशियाको अर्को कार्यक्रम नेपालमा भित्र्याउने योजनामा छ । तर, त्यसका लागि यो आयोजनाबाट एशिया रग्बी प्रभाव पार्ने संघको विश्वास छ । साथै प्रतियोगितालाई पनि नतिजामुखी बनाउने संघका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो ।

यो प्रतियोगितामा पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्य बनाएको छ ।