• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लाल किल्लाबाट प्रधानमन्त्री मोदीले भने– अर्को पटक फेरि तिरंगा फहराउनेछु



एजेन्सी । ‘मेरा प्रिय १४० करोड परिवारका सदस्यहरू… ।’ भारतको ७७ औं स्वतन्त्रता दिवसमा लाल किल्लाबाट तिरंगा फहराएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो वाक्य थियो ।

पहिले उनी मेरो प्यारो देशवासीहरूबाट आफ्नो भाषण सुरु गर्दथे । यसपटक मोदीले आफ्नो ९० मिनेट अर्थात डेढ घण्टाको भाषणमा २६ पटक ‘मेरो परिवार’ शब्दको उल्लेख गरेका छन् ।

लालकिल्लामा १० औं पटक झण्डा फहराएर प्रधानमन्त्रीले सम्बोधनमा देशवासीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले मणिपुर हिंसा, सुधारको बारेमा बोले । आफ्नो सरकारको १० वर्षको कामको लेखाजोखा पनि दिए । उनले नातावाद, भ्रष्टाचार र तुष्टीकरण जस्ता तीनवटा विकृतिबाट राजनीतिबाट मुक्त हुन पनि आग्रह गरे ।

जनतासँग आशीर्वाद माग्दै प्रधानमन्त्रीले भने, ‘२०४७ मा देशले स्वतन्त्रताको सय वर्ष मनाउँदै गर्दा विश्वमा विकसित मुलुकको पहिचानसहितको हाम्रो देशको तिरंगा फहराउनुपर्छ ।’ यसका लागि उनले आगामी ५ वर्षलाई महत्वपूर्ण भन्दै सन् २०२४ मा लाल किल्लामा तिरंगा फहराउने दाबी गरे ।

मोदीले देशवासीलाई ३ ग्यारेन्टी पनि दिए । पहिलो–५ वर्षमा भारत विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बन्नेछ । दोस्रो– सहरमा भाडाको घरमा बस्नेहरूले बैंक ऋणमा सहुलियत पाउनेछन् । तेस्रो – देशभर २५ हजार जनऔषधी केन्द्र खोलिने । १७ सेप्टेम्बरमा विश्वकर्मा योजना सुरु गर्ने घोषणा समेत मोदीले गरे ।

भारतले आज ७७ औं स्वतन्त्रता दिवस धुमधामले मनाइरहेको छ ।