• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोज्दैछ: चित्रबहादुर केसी



file

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनु भएको छ । 

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हो । अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताउनु भयो ।

उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाउनु भयो । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताउनु भयो ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनु भएको छ । उहाँले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न, अनि सत्तामा रजाइँ गर्न भ्रष्टाचारीहरुसँग मित लगाएको होइन । यो प्रतिगमनलाई पराजित गर्नको लागि मात्रै हो । अहिले धेरैले मलाई सोध्ने प्रश्न के हो भने, एमसीसीका कारण गठबन्धन जान्छ कि के हो ? गठबन्धन ढल्छ कि के हो ? पिरलो त गठबन्धनको पो छ त ल, गठबन्धनमा त्यहाँ भएका कतिपयले त नेपाली काँग्रेस बाहेक अरुले कम से कम संशोधन हुनुपर्छ, एमसीसी जस्ताको त्यस्तै स्वीकार हुँदैन भनेका छन्, त्यो पनि एउटा राम्रै पक्ष हो । राष्ट्रिय जनमोर्चा त्यो पार्टी हो, जसले कुनैपनि हालतमा एमसीसी पास गर्नुहुँदैन भनेको छ । यो खारेज हुनुपर्छ, यो स्वीकार्य छैन भनेको छ । यही दक्षिण एशियाको गरिब देश श्रीलंकाले किन क्यान्सिल गरेको ? त्यहाँ चाहिएको थिएन अमेरिकाको डलर ? मेडावास्कर, तान्जिनिया, कोषोबोले किन स्वीकार गरेन ? यहाँ एमसीसीका पक्षधरहर मंगोलियाले पास गरेको छ भन्छन् । नेपाली जनता के भेडा हुन् ? बेकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको । यहाँ एमसीसीको माध्यमबाट नेपाललाई आफ्नो रणनीतिक योजनाभित्र राख्न चाहन्छ । एमसीसी भित्र केही विवाद भए नेपालको कानून, संविधान लाग्नु हुँदैन । 

एमसीसीमा जे छ त्यसमा नेपाली जनताले नाकको चालले मान्नुपर्छ । अहिले भएको अमेरिकाको कानून र भोलि बन्ने कानूनसम्म तपाईले एमसीसी स्वीकार गर्नुभयो भने नेपालीले मान्नुपर्छ । नोपालीले अहिले भएको र भोलि बन्ने अमेरिकाको कानून मान्नुपर्ने हुन्छ ? १३ करोड रुपैयाँ हामीले सामेल गरेका छौँ । एमसीसीको हिसाव उसले मात्रै गर्न चाहने हामीले गर्न नपाउने भन्ने हुन्छ ? यो त राजाले पनि बुझ्ने कुरा हो । यस भन्दा पहिलेको एमालेको सरकार, खास गरेर ओलीजीले जोडजुलुम गर्नुभएको थियो भित्रभित्रै पास गराउनलाई । हाम्रो जस्तो कमजोर देशमा राजनीतिक पार्टीहरुलाई खरिद गर्छन् विदेशीहरुले । मलाई त थाहा भयो नि । तीनपटक सदनमा गएर हेरेँ नि मैले । ९ महिना सरकारमा बसेर पनि हेरेँ । विदेशीहरुले यहाँका राजनीतिक पार्टीहरुलाई सबैलाई होइन, खासखास मान्छेलाई किनिरहेको छ, पालिरहेको छ । प्रशासनमा बस्ने कतिपय प्रशासन प्रमुख, देश बेचुवाहरुलाई पनि किनिरहेको हुन्छ । कतिपय बुद्धिजीविहरुलाई पनि किनेको हुन्छ ।’

अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताउनु भयो । उहाँले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताउनु भयो । उहाँले नेपाल अहिले विदेशीहरुको लुटको अखडा भएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष केसील भन्नुभयो, ‘दुई वर्ष तीन वर्षदेखि मधेशमा एउटा रेल ल्याएर उभ्याएका छन् । त्यसलाई कात्रो हालेर ढाकेर राखेका छन् । आजभोलि के भन्छन्, फागुन १ गते कात्रो फालेर नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले चलाउने रे । तर अरु प्यासेन्जर बस्न नहुने । हामीलाइृ कति बेकुफ बनाएका छन्, डेढ वर्षसम्म त्यो कात्रो ओढाएर त्यति महंगो राष्ट्रको पैसा हालेर रेललाई ल्याएर कात्रो ओढाएर राख्ने ? हाम्रो अपमान होइन त्यो ? नेपाली जनताको बेइज्जत होइन त्यो ? त्यसैले नेपाल आज विदेशीहरुको लुटको अखडा भइरहेको छ ।’

अध्यक्ष केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाउनु भयो । उहाँले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्ब भन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताउनु भयो । उहाँले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताउनु भयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालमा राजनीति गर्ने भनेको के हो भने देश लुट्ने हो । लुट्ने र आउने चुनावमा हामीलाई खरिद्ने । जे गरे पनि हामीलाई मान्य हुने । यी नेताको मात्रै दोष छ यो देश खरानी हुनुमा ? यति राम्रो कृषिप्रदान देशमा ५० अर्ब भन्दा बढी खाद्यान्न आएको छ सालमा एकचोटि । अहिले विदेशबाट सबै आइरहेको छ । यताबाट निर्यात गर्ने मान्छे मात्रै । देश समृद्धि गर्ने भनेर पानी खाँदै उफ्रिँदै गर्छन् फटाहाहरु, नेपालमा पाखुरा बलिया भएका युवाहरु सबै विदेश । अमेरिकाले आएर यहाँ समृद्धि गराउँछ ? अमेरिकाले चीनलाई समृद्धि गरयो ? भियतनाम, अफगानिस्तानलाई बनायो ?एमसीसी बोक्दा हाम्रो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्ने हाम्रा शासकहरु ।’

अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताउनु भयो । उहाँले नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाउनु भयो । अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको भन्दै अध्यक्ष केसीले भन्नुभयो, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुाव त तस्करहरुको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरुको हो । चुनाव सहकारीका माफियाहरुको हो । एमसीसी भित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’

अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताउनु भयो । उहाँले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताउनु भयो । उहाँले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘मुलुक गम्भीर शंकटरमा पर्दै आएको छ । मुलुक अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको छ । यही रुपले मुलुक अघि बढ्ने हो भने यहाँ हामीले रोक्ने होइन, जनता संगठित, शतर्क हुने होइन भन्ने र नेपाल खोज्न जानुपर्ला इतिहासमा । अत्यन्त शंकटमा पु¥याएका छन् देशलाई । त्यसैले संसदमा भएकास सांसद साथीहरुलाई म के भन्न चाहन्छु । एमसीसीलाई समर्थन नगर्नुस्, तपाईको राजनीति सकिन्छ । जनताले भोलि हिसावकिताव गर्नेछन् । तपाईहरुले एमसीसी इन्कार गर्नुहोस् । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई ख्याल गर्नुहोस् ।’

अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनु भयो ।