१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

गौरादहको बजारैमा भेटिए गायक सीताराम ताजपुरिया

गौरादहको बजारैमा भेटिए गायक सीताराम ताजपुरिया
अ अ+ अ-

झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा।।।’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आउनुभएको छ ।

रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकास पाएपछि काठमाडौँको लामो बसाइ टुङ्ग्याएर उहाँ पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किनुभयो । बुबाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका–२ मा सानो नयाँ घर बनाउनुभयो । अहिले त्यही घरमा ताजपुरिया दम्पती बस्दै आउनुभएको छ ।

“धेरै गीत गाएँ, धेरै दाम चाहिँ कमाउन सकिनँ,” काठमाडौँबाट गाउँ फर्किर अवकास जीवन बिताइरहनुभएका उहाँ भन्नुहुन्छ, “तर धेरै नाम कमाउन पाएकोमा खुशी छु । गौरादहकै गीत गाउँदा सबैले चिन्नुभयो । गौरादह नै प्यारो लाग्छ ।”

झापामा राजवंशी र ताजपुरिया बढी जनसङ्ख्या भएको आदिवासी समुदाय हो । उनीहरुको आफ्नै मातृभाषा, वेशभुषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै उहाँले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्याउनु भएको योगदान अद्वितीय छ ।

गौरादहको एउटै गीतले चर्चित बनायो

विसं २०३९ साल जेठमा अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले गीत सुनेर दिएको १२५ रुपैयाँ बोकेर गौरादहबाट काठमाडौँ पुग्नुभएका ताजपुरियाले रेडियो नेपालमा स्वर परीक्षा पास गरेलगत्तै ताजपुरिया भाषामा नेपालकै पहिलो गीत रेकर्ड गराउनुभएको थियो । गीतको बोल थियो– ‘कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान।।। ।” यसको अर्थ लाग्थ्यो– ‘काली काली भए पनि हिस्सी परेकी छौ।।।।।’

उसबेला रेडियो नेपालमा फूलबारी कार्यक्रममा भाषाभाषीको गीत बज्थ्यो । ताजपुरिया भाषाको गीत गाएको धेरैपछि मात्र उहाँले नेपाली लोकगीत गाउने अवसर पाउनुभयो । जसको बोल थियो– ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडी गयो ।’

यो गीत यति लोकप्रिय बन्यो कि यसैले सीताराम ताजपुरियालाई विश्वभरिका नेपाली भाषीसामु चिनायो । यही गीतको ख्यातिका कारण २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उहाँले गोरखा दक्षिणबाहु पदकले विभूषित हुने अवसर पाउनुभयो । रेडियो नेपालले उहाँलाई स्वर्ण पदक समेत दियो ।

छत्तीस वर्षअघि २०४२ सालतिर ‘गौरादहको बजारैमा।।’ गीत रेकर्ड भएको थियो । गायक ताजपुरियाको आफ्नै रचना, स्वर र सङ्गीत मिसिएको छ उक्त गीतमा । उहाँका अनुसार २०३३ सालमा एसएलसीको जाँच दिएपछि यो गीतको पहिलो हरफ लेखिएको थियो । पछि पुनर्लेखन गरेर गीतलाई रेकर्ड गरिएको थियो ।

गौरादहको बजारमा मायालुसँग माया साटेको भावना बोकेको उक्त गीत गाउँदा गौरादह बजारमा पुराना शैलीका झुपडी घरहरु मात्र थिए । अहिले ठूला महल र फराकिला सडकले नगरपालिकामा रूपान्तरित सहर भइसकेको छ गौरादह । 

“गौरादह र जुरोपानी गाउँ समेटेर नगरपालिका बनाउन लाग्दा गौरापानी नगरपालिका बनाउने तयारी भएको रहेछ”, उहाँले भन्नुभयो, “गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर मैले नेताहरुलाई आग्रह गरेको थिएँ । आखिर पहिचान बाँच्यो ।”

चोकको नामकरण उहाँकै नामबाट

गौरादह–२ मा गौरीगञ्ज जाने सडकमै जोडिएको छ उहाँको घर । घरको आँगनमा रङ्गीबिरङ्गी फूल फुलेका छन् । गौरादह चोकबाट दक्षिणमा रहेको उहाँको घर भएको चोकको नामकरण ‘सीताराम ताजपुरिया चोक’ राखिएको छ । चोकको नाम २०७२ सालमा राखिएको थियो ।

एक तले पक्की घरको छतको बुर्जामा ‘गौरादहको बजारैमा।।।।’ ठूलो अक्षरले कुँदिएको छ । बाटो हिँड्ने जोकोहीले त्यो घर राष्ट्रिय गायक सीताराम ताजपुरियाको हो भनेर चिन्न सजिलो भएको छ । चोकको नामकरणमा स्थानीय राजनीतिक दलहरु एकमत भएका थिए ।

घरभित्र भान्साबाहेकका सबै कोठा उहाँले पाउनुभएको तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिभराउ छन् । तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सञ्चारमन्त्री शङ्कर पोखरेलको हातबाट सम्मान ग्रहण गरिरहेको तस्बीर सजाइएको छ । सुन र चाँदीका तक्माहरु राखिएका छन् । गायक उदीतनारायण झा, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता भुवन केसी र राजेश हमाललगायतसँग खिचेका पुराना तस्बीरहरुले उहाँको घरलाई सङ्ग्रहालय जस्तै बनाएको छ ।

मन परेको गीत अर्कै थियो

‘गौरादहको बजारैमा।।’ गीतले बहुचर्चित बनाए तापनि गायकको प्रिय गीत चाहिँ अर्कै रहेछ । उहाँलाई सर्वाधिक मन परेको गीत यस्तो रहेछ– 
‘म आफ्नै आँखाबाट झरेको छु,
झरेको पातलाई जसले टेके पनि हुन्छ ।
म आफ्नै चिहानमा मरेको छु,
मरेको गीतलाई जसले लेखे पनि हुन्छ ।।’

उहाँका २०० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसकेका छन् । तीमध्ये धेरैजसो लोकगीत छन् भने आधुनिक र भजन गीत पनि धेरै नै छन् । “म सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको थिएँ”, आदिवासी परिवारमा जन्मेर पनि पहाडी मूलको नेपाली लोकगीतमा रुचि राख्नुको कारण बताउँदै उहाँले भन्नुभयो, “मातृभाषा चटक्कै भुलेको होइन, नेपाली भाषा बोल्ने साथीहरु मेरा धेरै थिए । उनीहरुसँगै घुलमिल धेरै थियो । त्यसको प्रभाव गीतमा पनि पर्यो ।”

तराईमा जन्मी हुर्की गरेको उहाँको अधिकांश गीतमा भने पहाडी जनजीवन र भाका झल्किन्छ । उहाँको एउटा गीत यस्तो छ–
“ढाकरै बोकी ठ्याक्क ठ्याक्क
ओखलढुङ्गा चार दिनको बाटो कटारी बजार ठ्याक्क ठ्याक्क
भोकै र नाङ्गै बालबच्चा घरमा ठ्याक्क ठ्याक्क
यस्तै नै रैछ दुखिया कर्म ठ्याक्क ठ्याक्क ।”

गीत धेरै नै गाए पनि ‘गौरादहको बजारैमा।।।’ यति धेरै प्रसिद्ध होला भनेर आफूले सुरुमा कल्पना नगरेको उहाँले बताउनुभयो । बूढेसकालले छुन थालिसकेको छ उहाँलाई । मधुमेह र रक्तचापको बिरामीले च्याप्न थालेको छ । आँखाको शक्ति कम हुँदै गएको छ । शरीर कमजोर हुँदै गएको छ । तथापि विभिन्न जिल्लाबाट गीत गाउन बोलाउँदा उहाँ जाने गर्नुभएको छ । केही समयपछि भारतको आसाममा गीत गाउन निम्तो आएको जानकारी दिँदै जाने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

दाम नकमाए पनि नाम कमाएकोमा खुशी

सीताराम ताजपुरियाले जीवनभर नेपाली साङ्गीतिक क्षेत्रको सेवा गर्नुभयो । तर उहाँले दाम होइन, नाम कमाउनुभयो । यसैमा खुशी हुनुहुन्छ उहाँ । “जागिरबाट बिदा भएपछि आफ्नै गाउँ गौरादह आएको छु, सानैदेखिका साथीभाइ सबै यतै छन्”, उहाँले भावुक हुँदै भन्नुभयो, “मेरो बुबा गोठालो हुनुहुन्थ्यो । अर्काको बनिबुतो गरेर हामीलाई पाल्नु हुन्थ्यो । धेरै पढाउन सक्नुभएन । तर मैले काठमाडौँ गएर गीत गाएर देशको सेवा गर्न पाएँ । गौरादहको नाम चम्काउन पाएँ ।”

उहाँको सम्पत्तिको नाममा एक कठ्ठा जग्गा र घर छ । पत्नी लक्ष्मी ताजपुरिया पनि सङ्गीतप्रति झुकाव राख्नुहुन्छ । छोराछोरी छैनन् । बाँचुञ्जेल नेपाली सङ्गीतको सेवा गर्ने इच्छा उहाँले सुनाउनुभयो । गौरादह नगरपालिकाले सम्मान गर्ने भएको रहेछ । पत्रकार र सङ्गीत क्षेत्रका मानिसहरु भेट्नका लागि आइरहन्छन् । यसैमा उहाँ सन्तुष्ट हुनुहुन्छ ।

“कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन”, उहाँले सरकारलाई सुझाव राख्दै भन्नुभयो, “देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहीँ सरकारले पनि हेरविचार गर्नुपर्छ ।” आधुनिक सङ्गीतको नाममा पाश्चात्य संस्कृतिको अतिक्रमणले नेपाली सङ्गीतमा विकृति बढ्न थालेको उहाँको गुनासो छ । रासस