काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदको अवरोध खोल्न तयार भएको छ ।
सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्पष्टीकरण दिने भएपछि एमाले बैठक चल्न दिन सहमत भएको हो ।
बालुवाटारमा बसेको सभामुखसहितको तीन दलको शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठक चल्ने दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए ।
सचेतक बर्तौलाले एमालेले सरकारलाई सहयोग गर्न उच्चस्तरीय छानबिनको माग गरेको र यो एजेण्डा नछाड्ने बताए । ‘सीआईबीको अनुसन्धानले अपराधबारे अनुसन्धान हुन्छ, योभन्दा बाहिर पनि अध्ययन गर्नुपर्नेछ’ उनले भने, “नेपाल तस्करहरुको स्वर्ग किन बन्दैछ ? तस्करको जालो समाप्त पार्न कानुनी, संरचनागत जटिलता के छ भनेर अध्ययन गर्नुपर्नेछ ।’
उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नभए पुन: सदन अवरोध गर्ने बताए ।