• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

जब दुबईबाट इराक जान लागेको विमानबाट भालु निस्कियो…



एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । दुबई एयरपोर्टबाट प्रस्थान गर्नु अघि इराकी विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यो घटनाले उडान ढिलो मात्र होइन, सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर पनि पैदा गरेको छ।

इराकका प्रधानमन्त्रीले यस घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकी एयरवेजले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । एयरलाइन्सले भालु बगदादबाट दुबई ल्याइएको र यसको चालक दलले संयुक्त अरब इमिरेट्स (युएई)का अधिकारीहरूसँग सहकार्य गरेको बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा विमानका क्याप्टेनले उडान ढिला भएकोमा यात्रुसँग माफी मागेको देख्न सकिन्छ । ढिलाइ हुनुको कारण कार्गो होल्डमा रहेको आफ्नो क्रेटबाट भालु भागेको बताइएको छ । भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।

इराकी एयरवेजले भालु ढुवानी गर्दा अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा अनुमोदित प्रोटोकलहरू र कानुनी मापदण्डहरू पुरा गरेको बताएको छ।

अन्तर्राष्ट्रिय यात्राका लागि विश्वकै व्यस्त विमानस्थलको रूपमा चिनिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ । उनीहरु शिकारी जनावरहरुलाई घरपालुवा जनावरको रूपमा राख्न रुचाउछन् । यसैबिच इराकी अधिकारीहरूले जंगली जनावरहरूको संरक्षण गर्ने उद्देश्यले नियमहरू लागू गर्न चुनौतीहरूको सामना गरिरहेका छन् ।

त्यस्ता जीवहरूलाई शहरको सडकमा घुम्न वा रेस्टुरेन्टहरूमा विदेशी खानाको रूपमा प्रयोग गर्नबाट रोक्नको लागि बग्दादको प्रहरीले नागरिकहरूलाई त्यस्ता जनावरहरूको रिपोर्ट गर्न आग्रह गरेको छ।