४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड



अ+ अ-

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।

अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ , कावासोतीमा एक सय ९३ र सिम्रनगढमा एक सय दुई जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा दुई सय ३८, पर्सामा एक सय ६३ , रत्ननगरमा एक सय २८ , माडीमा ९६ , चनौलीमा ६५ , राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

यसैगरी धादिङको बेनिघाटमा १६ , सल्यानटारमा १३ , नवलपरासीको मध्यविन्दुमा ४४ , हुप्सेकोटमाम ४० , सिन्धुलीको दुधौलीमा १७ , तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिनुभयो ।

बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ । उहाँले औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको बताउनुभयो । अस्पतालले आफ्नो स्रोतसाधन र जनशक्तिलाई अधिकतम उपयोग गरेर सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीमा रोग फैलिन ठूलो समस्या नदेखिएको उहाँको भनाइ छ ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले रोग लाग्नुभन्दा बच्नु नै उत्तम भएको भन्दै सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिनुभयो । उहाँले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । आफूखुसी औषधि किनेर प्रयोग नगर्न उहाँको सुझाव छ ।

नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले मुख्य अस्पताल, तीन वटा सेकेण्डरी आँखा अस्पताल र १४ आँखा उपचार केन्द्रमा बिरामीलाई सकेसम्म सहजरुपमा उपचारको व्यवस्था मिलाइएको बताउनुभयो । सबै बिरामीलाई एकै पटकभन्दा फरकफरक समयमा आएमा उपचार सहज हुने उहाँको भनाइ छ । अस्पताल आसपासका बिरामी दिउँसो २ बजेपछिको समयमा अस्पताल आउँदा भीड कम हुने उहाँको भनाइ छ । सबैलाई सजगता अपनाउन उहाँले अपिल गर्नुभयो ।

सङ्घ सचिव केशव अधिकारीले औषधि आपूर्ति गर्न सम्झौता गरेका कम्पनीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराउन नसके सम्झौता खारेज गरिने जानकारी दिँदै आपूर्तिका लागि लाग्न आग्रह गरिएको बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा दिन रोकिएको उहाँको भनाइ छ ।

अन्य बिरामी फरक ठाउँमा सजगताका साथ उपचार गराइएको उहाँले बताउनुभयो । जिल्लाका पालिकाले रोग फैलिएपछि शिक्षण संस्था बन्दसमेत गर्न थालेका छन् । रासस