१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा उत्पादित कागतीले बजार पाएन



अ+ अ-

दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो ।

विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थाल्नुभएको छ । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उहाँले बताउनुभयो । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।

“उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।” उहाँका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।”

ठकुरीले गत वर्ष प्रतिकेजी रु ८० मा बिक्री गर्नुभएको थियो । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । “चितवनमा बुझ्दा किलोको रु ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा रु एक सयसम्म पनि आएको छ”, उहाँको भनाइ छ ।

विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नुभएका ठकुरी विसं २०७० मा स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्किएपछि उहाँले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गर्नुभएको थियो । हालसम्म रु १५ लाख लगानी भइसकेको उहाँको भनाइ छ ।

उहाँको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उहाँले बताउनुभयो । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उहाँले बताउनुभयो ।

कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उहाँ बताउनुहुन्छ । कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । उहाँले भन्नुभयो, “बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो ।”

बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उहाँको अनुभव छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दु:ख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताउनुभयो । “उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन, कृषि सडक कृषि उत्पादन नभएको ठाउँमा लगियो”, उहाँले भन्नुभयो, “कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु ।” तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताउनुभयो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ । रासस