१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा पाक्ने समस्या देखिएपछि खैरहनीमा दुई दिन विद्यालय बन्द



फाइल फोटो
अ+ अ-

चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उहाँले बताउनुभयो ।

बानियाका अनुसार अहिलेको बिदा विद्यालयले हिउँदे र बर्षे बिदाबाट कट्टा हुने गरी गरिएको मिलान गर्नुपर्नेछ । यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन् । यहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ ।

यसबाट बच्नका लागि आँखाका बिरामीको संसर्गमा नआउने, कालो चस्मा लगाउने, आँखा परीक्षण गरी औषधिको प्रयोग गर्ने, सफा पानीले नियमित आँखा सफा गर्ने, नियमित साबुनपानीले हात धुने, तौलिया, रुमाल, लत्ताकपडा तथा शृङ्गारका सामानहरु साझा रुपमा प्रयोग नगर्ने घिमिरेले बताउनुभयो । रासस