२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्राहीको चाप, कर्मचारी अभाव



अ+ अ-

गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिनुभयो । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँको भनाइ थियो ।

अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताउनुभयो । उहाँका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।

“एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भन्नुभयो, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।” पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

थप पाँच/छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गर्नुभयो । “हामीले धेरै माग गरेका छैनौँ, पाँच/छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताउनुभयो । “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अस्थायी/करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।”

प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् । एक वर्षमा एक लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । “चैत र असार मसान्तको समयमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारले सेवा दिएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो ।

बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ती हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उहाँले जानकारी दिनुभयो ।

“चारपाङ्गे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ”, थापाले भन्नुभयो, “सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नुपर्ने हुन्छ ।” उहाँका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् ।

गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताउनुभयो । “दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाई भएको छ । कर्मचारीको नियुक्ती र पदस्थापनको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने हो”, उहाँले भन्नुभयो, “अस्थायी नियुक्ती पनि प्रक्रियामा छ, निर्णय भएर आइसकेको छैन ।”

प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र)ले बिहानी सेवा पनि दिइरहेको छ ।

राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिनुभयो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उहाँको भनाइ थियो । उहाँका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को प्रयोगात्मक परीक्षा ‘ट्रायल’ सम्मका सेवा बिहानैदेखि सुरु गरिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । “बिहान ८ बजेदेखि सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढीसक्छ”, उहाँले भन्नुभयो, “पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे करिब ३० प्रतिशत काम भइसक्छ ।”

कार्यालयले लाइसेन्स नवीकरणका लागि अनलाइन भुक्तानी सेवा पनि सुरु जानकारी दिँदै प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताउनुभयो । रासस




भर्खरै