• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’



बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।”

कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, “भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भन्नुभयो, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।”

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । “विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ”, उहाँले भन्नुभयो, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।” रासस