२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’



अ+ अ-

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।”

कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।

“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भन्नुभयो, “भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।” हावाले उढाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन् ।

पठनपाठनमा निकै समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएपछि श्रमदानमा विद्यालयको छाना निर्माण गर्ने काम भइरहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । विद्यालय नजिकै खोला र राष्ट्रिय निकुञ्ज भएको जानकारी दिँदै उहाँले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार वर्षात्का समयमा खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।

“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?” विद्यार्थी वर्षा ओडले भन्नुभयो, “विद्यालयको पर्खाल नहुँदा ससाना विद्यार्थी खेल्दाखेल्दै खोलामा खस्ने डर छ ।”

नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताउनुभयो । “विद्यालयमा शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ”, उहाँले भन्नुभयो, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।” रासस




भर्खरै