• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्राङ्गारिक खेती अभियानमा न्यौपाने



चितवन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।

न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गर्नुभएको छ ।

मौसमअनुसारको तरकारीसँगै उहाँले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गर्नुभएको छ । उहाँले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफँैले उत्पादन गर्दै आएको बताउनुभयो । विसं २०७४ देखि तरकारीखेती सुरु गर्नुभएका उहाँ त्यसको दुई वर्षपछि पूर्णरुपमा प्राङ्गारिक खेतीतर्फ लाग्नुभएको हो ।

उहाँका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रुपमा परिणत गर्दछ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ । यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ ।

उहाँले धनजीवामृत बनाएर मलको काम गराउँदै आउनुभएको छ । यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ । यसले मलको काम गर्दछ । बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उहाँ आफँैले बनाउनुहुन्छ । यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ । एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ । यसैगरी अर्को भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ । दुवैलाई मिसाएर ड्रममा बिर्को लगाएर २०–२२ दिन राख्नुपर्ने उहाँ बताउनुहुन्छ । दैनिकरुपमा यसलाई चलाउनुपर्छ । यसले पोषणको काम गर्दछ ।

‘वेष्ट डिकम्पोजर’ उहाँले बनाउने गर्नुभएको छ । यसको मुख्य बीउ भारतबाट आउँछ । त्यो गाईको पिसावबाट बनेको हुन्छ । त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ । दुई सय लिटर पानीको ट्याङ्कीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ । न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पुर्‍याउने बताउनुभयो ।

किरा नियन्त्रणका लागि उहाँले निमास्त्र बनाउने गर्नुभएको छ । निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ । ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्को भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ । यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ । एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ । यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ ।

दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउनुहुन्छ । यसरी आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा रु ३० लाख हाराहारीको बिक्री गर्न सकेको उहाँ बताउनुहुन्छ । उहाँले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको रु एक हजार दुई सयदेखि रु चार हजारसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आउनुभएको छ । प्राङ्गारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उहाँले तरकारी तथा खाद्यान्न बिक्री गर्नुहुन्छ ।

यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ जाने गरेको छ । उहाँले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आउनुभएको छ । आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उहाँले सुरु गर्नुभएको छ । स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आउनुभएका न्यौपाने प्राङ्गारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउनुहुन्छ ।

रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।” आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उहाँको भनाइ छ । रासस