३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाँदर आतङ्कले किसान हैरानी : कुरुवा बस्दै बित्छ दिन

बाँदर आतङ्कले किसान हैरानी : कुरुवा बस्दै बित्छ दिन
फाईल फोटो
अ+ अ-

ढोरपाटन । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् ।

उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन् । जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन् ।

सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नुपर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले बताउनुभयो । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको जनाउँदै उहाँले अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने बताउनुभयो । बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

“पहिले–पहिले बाँदर कम लाग्थ्यो, अहिले निकै ठूलो सङ्ख्या आउँछन्, दुई–तीन सयको सङ्ख्यामा आउने बाँदरले सिङ्गो बारीको मकै १० मिनेटमै सखाप पारिदिन्छ, त्यही भएर बिहानैदेखि यहाँ बस्नुपर्छ”, उहाँले भन्नुभयो, “के गर्ने बल्लतल्ल दु:ख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरि भोकै बस्नुपर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रु नै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो ।”

कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन् । पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताउनुभयो । उहाँले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताउनुभयो । बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दु:खेसो पोख्नुभयो । बाँदरले हैरानी बनाएपछि गाउँका खेतीयोग्य जमिनमा बाली लगाउन छाडिएको उहाँको भनाइ छ ।

घर्तीले भन्नुभयो, “बाँदर नियन्त्रण गर्न धेरै कोसिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरि कुरुवा नबसेसम्म बाली जोगिन्न, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छाडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिलेजस्तो बाँदर आतङ्क पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरू बसाइँ सरे ।”

बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष रु साढे चार लाख छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुनसकेको थिएन । यस वर्ष नयाँ प्रविधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडाध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो । पछिल्लो समय लेक–लेकबाट मध्यगाउँमै बाँदर आउन थालेको उहाँको भनाइ छ । कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतङ्कबाट मुक्त बनाउनका लागि तीनवटै सरकारले सहकार्य गर्नुपर्ने अध्यक्ष पौडेल बताउनुभयो ।

“बाँदर आतङ्क बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति प्रभावकारी भएन”, उहाँले भन्नुभयो, “अब अलि फरक तरिकाले लाग्नुपर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छाड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसका लागि विज्ञसँग बुझ्ने र समधान गर्नतर्फ लाग्नुपर्ने भयो ।” रासस