• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

जहाँ राइट ब्रदर्सले पहिलो पटक बिमान उडाए -फोटो फिचर



नर्थ क्यारोलिना (अमेरिका)। आकाशमा उडिरहेका हजारौँ हवाईजहाज हामीले देखिरहेका हुन्छौं । बालकदेखि वृद्धसम्म सबैका मनमा कौतुहल जागिरहन्छ आखिर ती विमान शुरुमा कसले बनाएका होलान् ? उनीहरुको प्रतिमालाई छुन पाए ? रावणले पुष्पक विमानमा राखेर सीतालाई अपहरण गरेको कथा सुनेका हामीहरुले आजभोलिका आधुनिक विमानको आविस्कार अमेरिकामा भएको थियो भनेर सुनेका छौं ।

आज हामीले तपाइँहरुलाई तिनै विमान बनाउने दुई दाजुभाइको कथा लिएर आएका छौं । हामी नेपालीमाझ “सपनाको देश” भनिने संयुक्तराज्य अमेरिकामा आजभन्दा झण्डै १२० वर्ष पहिले राइट ब्रदर्स (ओल्भिर राइट र विल्भर राइट) ले पहिलो पटक मोटर–इन्जिनको सहायताले विमान उडाएका थिए । पहिलो नमुना हवाइजहाज उडाउने राइट दाजुभाइको नाम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखिएको छ ।

राइट ब्रदर्सले तयार पारेको जहाज अमेरिकाको नर्थ क्यारोलिना स्थित किल डेभिल हिल्समा पहिलो पटक उडाएका थिए । साइकल, प्रिन्टिङ प्रेस, मोटरसाइकलका वर्कसप चलाएर बसेका यी दाजुभाइले हावामा कुनै वस्तुलाई कसरी अड्याउन, दायाँबायाँ मोड्न र अगाडि बढाउन सकिन्छ भनेर निकै अध्ययन गरेका थिए । माध्यमिक तह मात्र पढेका भए पनि उनीहरुले आफ्नो वर्कसपबाटै यो अदभूत सीप सिकेको पाइन्छ, र खासगरी साइकल नै उनीहरुको प्रेरणाको मुख्य स्रोत रहेको थियो ।

तिनै राइट ब्रदर्सको स्मृतिमा अमेरिकाको नर्थ क्यारोलिना स्थित किल डेभिल हिल्समा राइट ब्रदर्स मेमोरियल सेन्टर स्थापना गरिएको छ । यही स्थानबाट राइट ब्रदर्सले सन् १९०३ डिसेम्बर १७ मा पहिलो उडान गरेका थिए । यहाँ पहिलो विमानदेखि विमान निर्माणका लागि प्रयोग भएका सामग्री, राइट ब्रदर्स बस्ने घरदेखि उनीहरुले प्रयोग गरेका सम्पूर्ण सामग्री सुरक्षित तवरले राखिएको छ । सो स्थान अमेरिकाको प्रमुख एक पर्यटकीय गन्तव्यका रुपमा समेत रहेको छ ।

हवाइजहाजको इतिहास, हवाइजहाजको आविष्कार कसले ग–यो ? पहिलो उडान भएको स्थान कस्तो रहेछ भन्दै हेर्न यहाँ दैनिक हजारौँ पर्यटक तथा अन्वेषकहरु पुग्ने गरेका छन् ।

यहाँ राइट ब्रदर्सको स्मृतिमा ६० फिट अग्लो ग्रेनाइटको प्रतिमा स्थापना गरिएको छ । जहाँ लेखिएको छ, ‘निडर सङ्कल्प र अतुलनीय विश्वासद्वारा प्राप्त वायु प्रतिभाको विजयको सम्झनामा ।’ यहाँबाट समुद्र र शहरहरू टाढाटाढासम्म देख्न सकिन्छ । यो टावर २५ वर्षको उडानको स्मृतिमा सन् १९२८ मा निर्माण गरिएको थियो । सन् १९६० को दशकसम्म राइट ब्रदर्स मेमोरियललाई आजको जस्तो रुप दिइएको थिएन ।

सन् १९६० को डिसेम्बरमा मात्र आगन्तुक केन्द्र खोलिएको थियो । ९९०० वर्गफिटमा फैलिएको यस क्षेत्रमा राइट ब्रदर्सले के गरे र कसैले गर्न नसक्ने कुरा कसरी पूरा गरे भनेर पूर्ण विवरण राखिएको छ । यहाँ राखिएको जानकारी अनुसार पहिलो ग्लाइडरलाई राइट भाइहरूले इन्धनयुक्त मेसिनमार्फत उडाएका थिए, जुन १२ सेकेन्डसम्म हावामा रह्यो र तल आयो । तर सबैभन्दा महत्वपूर्ण कुरा, यसमा ग्लाइडरलाई कुनै क्षति भएन । दिनभर प्रयास जारी रह्यो र अन्तमा उक्त ग्लाइडरले ८३५ फिटको दूरी पार ग–यो र ५९ सेकेन्डसम्म हावामा रह्यो । यो सफलताले राइट भाइहरूका लागि अक्सिजनको काम ग–यो ।

करिब दुई वर्षपछि अर्थात् १९०५ मा उनीहरु आफ्नो प्रयोगमा निक्कै निपूर्ण भए । सोही वर्ष उनीहरुले ३५ माइल प्रतिघण्टाको गतिमा २४ माइलको दूरी पार गरे । यो कुरा धेरै मानिसहरूमा फैलियो । तर सबैभन्दा अचम्मको कुरा यो थियो कि अहिलेसम्म यसबारे कुनै समाचार पत्र वा टिभीमा देखाइएको थिएन । यस्तो मेसिन पनि आविष्कार भएको छ जसले २४ माइलको दूरी तय गर्न सक्छ भन्ने अत्यन्त कम मानिसलाई मात्र थाहा थियो, र धेरैले यो अदभूत कार्यमाथि विश्वास नै गरेका थिएनन् । तर हवाई उड्डयनका क्षेत्रमा उनीहरुले संसारलाई बाटो देखाइसकेका थिए ।

तस्वीरहरूःसुशील अर्याल