• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो



मन्थली । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।

जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेँसीलगायतका ठाँउमा उल्लेख्यरुपमा अझै धान रोपाइँ हुन सकेको छैन । पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ । बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन् ।

धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली मकै, गहत, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन् । जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीँ पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन ।

जिल्लामा रहेको कूल खेतीयोग्य जमिन ५० हजार नौ सय आठ हेक्टर रहे पनि धान रोप्न योग्य जमिन सात हजार आठ सय ५९ हेक्टर रहेको छ । त्यसमध्ये अहिलेसम्म करिब ४४ प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो । यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन् ।

रामेछापमा मात्र होइन सिन्धुलीका बढी धान उत्पादन हुने सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पनि पर्याप्त धान रोपाइँ हुन नसकेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताउनुभयो ।  रासस