मोरङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी(शनिश्चरे नगरपालिका(२ जयचोक जंगलमा बुधबार राति सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१प १८५१ नम्बरको स्कार्पिओ र पूर्व जाँदै गरेको ना२ख ९४७३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।
दुर्घटना बुधबार राति १२ बजे भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । दुर्घटनामा परि झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीन जना घाइते छन्। घाइतेलाई गोल्डेन अस्पताल विराटनगरमा उपचार गराईरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताईएको छ । मृतक र घाइते सबै स्कार्पिओमा सवार थिए।











