• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

भारतीय मलकै भरमा खेती



फाईल फोटो

टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।

“रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भन्नुभयो, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् ।

चौधरीले भन्नुभयो, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौँ की नगरौँ भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पु¥याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निरास भएका थिए ।

“जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ रु”, स्थानीय शेरबहादुर साउँदले भन्नुभयो, “सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।”

टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । “सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौँ”, वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भन्नुभयो, “२५ प्रतिशत मात्र मल पायौँ ।”

लक्ष्मीनारायण सहकारीले यस वर्ष नौ सय ५० बोरा युरिया, तीन सय ५० बोरा डिएपी र एक सय क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो । उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । “सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधामात्र मल आयो”, कडायत भन्नुहुन्छ, “मल ल्याउने प्रयासमा छौँ ।”

मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ । झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् । भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् । स्थानीय युवासिंह ठकुरीले भन्नुभयो, “भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तै पनि प्रयोग गर्नु हाम्रो बाध्यता छ ।”

अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताउनुभयो । “सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो ।” भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन ।

जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो । उहाँले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याउनुभयो । “मलाई १४ क्विन्टल मल आवश्यक थियो”, उहाँले भन्नुभयो, “सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा पाँच दिन लगाएर मल पाए । यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ ।”

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ । तर अहिले पनि मल अभाव छ । किसानका लागि आवश्यक मल र बीउ सहजै उपलब्ध हुनुपर्छ । मल, बीउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ । रासस