• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ: मन्त्री मोदी



विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताउनुभएको छ । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताउनुभयो । सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उहाँको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले किसानलाई पर्याप्त सिँचाइको व्यवस्था गर्न आवश्यक भएको उल्लेख गर्दै नहरमा पानीको मात्रा बढाउन सुझाव दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपालले पाँच दशक अघि बनेको यो नहरको संरचनालाई बलियो बनाउन अध्ययन भएको र केही समयभित्रै सुनसरीको सुनसरी खोला र मोरङको लोहन्द्रा खोलाको पानी नहरमा हाल्ने योजना रहेको जानकारी दिनुभयो । सुनसरी मोरङ सिँचाइ आयोजनाका निर्देशक भीलानन्द यादवले सन् १९७० मा बनेको उक्त नहरबाट सुनसरीमा ४० हजार हेक्टर र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगिरहेको अवस्थामा यो नहरलाई व्यवस्थित तथा बलियो बनाउन अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जल उपभोक्ता केन्द्रीय समन्वय समिति चतरा मूल नहर सुनसरी मोरङ सिँचाइ आयोजनाका अध्यक्ष तपन दासले किसानको जीवनस्तर बढाउन नहरमा बाह्रैमहिना पानी सञ्चालन हुनुपर्ने जिकिर गर्दै नहरलाई व्यवस्थित बनाउन सरकारले योजनावद्धरुपमा काम गर्नुपर्ने धारणा राख्नुभयो । बेलबारी नगरपालिकाका प्रमुख दीलबहादुर राईले नहर र पुल भत्किँदा यहाँ धेरै नागरिकले दुःख पाएको उल्लेख गर्दै निर्माणमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।

सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमीस्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो । बाढीले पुल बगाएपछि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन । यातायातका लागि महत्वपूर्ण मानिएको सो पुल भएर सवारीसाधन आवागमनमा समस्या भएको थियो ।

साइफन र पुलसँगसँगै निर्माण गर्न सुनसरी मोरङ सिँचाइ आयोजनाले रु ३४ करोड २४ लाखमा ठेक्का लगाएको थियो । उक्त पुलको लम्बाई १५३ दशमलव ३० मिटर र चौडाई साढे सात मिटर तथा साइफनको लम्बाई १९४ मिटर रहेको आयोजनाका डिभिजनल इञ्जीनीयर राजेशभक्त पोखरेलले जानकारी दिनुभयो । रासस