१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही



अ+ अ-

काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने/तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिनुभयो ।

“अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” उहाँले भन्नुभयो । कार्यालयले आव २०७९/८० मा तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ ।

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । आव २०७९/८० मा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने÷तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार आठ सय ३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आव २०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आव २०७८/७९ मा ६ हजार छ सय २६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिनुभयो । कार्यालयले रु एक करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो । जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ, उहाँले भन्नुभयो– “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।”

कार्यालयले आव २०७९/८० मा रु दुई करोड नौ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । रासस