१२ बैशाख २०८२, शुक्रबार
,
Latest
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ? भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण थापा स्मृति साँंझ–२०८०ः गुञ्जियो कालजयी गीतहरु



अ+ अ-

‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु…।’

अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शनदीर्घा नतमस्तक बन्यो ।

भक्तपुरलाई गीत, सङ्गीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्मेन्ट प्रालिले स्व गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको स्मृति साँझमा थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध…।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास भयो ।

कार्यक्रममा युवा गायक प्रनिल पलिखेलले गाएको यो गीतसँगै गायक अजर जङ्गमले ‘जति माया लाए पनि, जति कसम खाए पनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, गायिका सानुमाया धौभडेलले ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँभुलुँ लाग्यो मलाई’ बोलको गीत गाउँदै स्व थापालाई सम्झिनुभयो ।

आधनिक नेपाली सुगम सङ्गीतका थोरै गीत गाएर पनि अजरअमर बन्न सफल गायक स्व थापालाई सम्झँदै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ती, सुनिल लोहलालगायत उदयीमान गायक–गायिकाले स्व थापाका चर्चित गीत गाउँदा समय गएको पत्तै भएन । त्यस अवसरमा वरिष्ठ गीतकार एवं साहित्यकार सुवाषचन्द्र ढुङ्गेलले गायक अरूण थापा स्मृति दिवस विगत १२ वर्ष अगाडिबाटै आफू र चलचित्र समीक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको स्मरण गर्नुभयो ।

गीतकार ढुङ्गेलले गायक थापासँग जोडिएको आफ्नो साङ्गीतिक यात्राको पनि स्मरण गर्दै यस वर्ष पनि गायक कपिल कसपालले स्व थापाको स्मृति दिवसमा कार्यक्रमको आयोजना गरेर गायक थापाको गीत–सङ्गीतको योगदानलाई जीवन्त राख्न प्रेरणा दिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा गीतकार, साहित्यकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र साङ्गीतिक योगदानको संक्षिप्त चर्चा गर्नुभएको थियो भने काठमाडौँ फन भ्यालीका डा गोविन्द नेपालीले काठमाडौँ फन भ्यालीले हरेक दिनको सुरुआत गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर उहाँको साङ्गीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताउनुभयो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली सुगम सङ्गीतलाई जीवन्त राखी नयाँ पुस्तामा गीत सङ्गीतलाई पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवं कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताउनुभयो ।

अरुण थापाका चर्चित गीतहरु

विसं २००९ मा जन्मनुभएका गायक थापाका सर्वोत्कृष्ट गीतमध्ये सन् २००३ मा बिबीसी विश्व सेवाले गरेको सर्वेक्षणमा उहाँको गीत ‘ऋतुहरूमा तिमी…’ उत्कृष्ट सातौँमा परेपछि उहाँको चर्चा विश्वमै चुलियो ।

उहाँले जीवनको छोटो समयमा पनि अत्यधिक चर्चामा रहेका कालजयी गीत गाउनुभयो । उहाँका ‘जति माया लाए पनि’, ‘साँझको जुनसँगै’, ‘भुँलुँभुलुँ लाग्यो मलाई’, ‘बितेका मेरा तीता मीठा’, ‘ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो व्यथा के हो’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौँ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोसी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’जस्ता मुटु रेटेर गाएको आभास हुने कालजयी गीत छाडेर उहाँले नेपाली गीत–सङ्गीतलाई ठूलो गुण लगाउनुभएको छ ।

विसं २०५६ साउन ५ गते काठमाडौँ बागबजारको कान्तिपुर गेस्टहाउसको एउटा कोठामा अन्तिम श्वास फेर्नुभएको गायक थापाले छोटो जीवनमा मगर भाषाको एउटा गीतसहित करिब ४४ वटा गीत गाउनुभएको छ । उहाँले गाएको गीतको संगालो ‘अरुण’ र ‘बेस्ट अफ अरुण थापा’ नामक दुईवटा गीति एल्बम सार्वजनिक भएका छन् ।

‘अरुण थापा स्मृति प्रतिष्ठान’ले सहयोग सङ्कलन गरी निर्माण गरेको उहाँको सालिक २०६६ चैत २८ गते झम्सिखेलमा स्थापना गरेपछि भने यो ठाउँको नाम अरुण थापा चोकले नामकरण भएपछि आज पनि त्यही चोकमा उहाँको सालिक देख्न सकिन्छ । रासस




भर्खरै