१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका घरघरमा प्रहरीको स्टिकर



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गर्नुभएको छ । अभियानको सुरुआत गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताउनुभयो । प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताको प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घरघरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ । डिआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । स्टिकर टाँस्दा पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताउनुभयो । उहाँले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गर्नुभएको छ । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ । रासस