• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

जनताको स्वार्थभन्दा माथि केही छैन, एमालेले त्यसबाहेक अरू देख्दैनः वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले)विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताउनुभएको छ । एमालेको काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गर्नुभयो ।

एमालेले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेअनुसार आज काठमाडौँ महानगर कमिटीले कालीमाटीको टङ्केश्वर क्षेत्रको विष्णुमती करिडोर टेकुमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । उपाध्यक्ष पोखरेलले भण्डारीले देश बनाउने सपना देखेको भन्दै एमालेका कार्यकर्ता र नेतालाई पनि सपना देख्न सिकाएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रदेशमन्त्री रामेश्वर फुयाँल, एमाले काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दीपक निरौला, जिल्ला सचिव राजेश शाक्यलगायतको उपस्थित थियो । एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला र महानगर–१३ का वडाध्यक्ष ध्रुर्वनारायण मानन्धरले विरुवा रोप्ने काम सबैको जीवन र स्वास्थ्यसँग जोडिएको विषय भएको बताउनुभयो । रासस