२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली अस्पतालको सघन उपचारकक्षमा शैय्या अभाव



अ+ अ-

कञ्चनपुर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शैय्या अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शैय्या अभाव भएको हो । अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शैय्या मात्रै रहेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पुर्याउनुपर्ने अवस्था देखिएको छ ।

कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शैय्या बिरामीले भरिएका हुन् । सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शैय्या छन्, ती सबै भरिएका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शैय्या बढाउनुपर्ने बाध्यता आएको बताउनुभयो । “अहिले छ शैय्या छन्, ती सबै भरिएका छन् । गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उहाँले भन्नुभयो, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शैय्या थप्नुपर्ने अवस्था छ ।”

आइसीयूकक्षमा तत्काललाई १५ शैय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताउनुभयो । “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उहाँले भन्नुभयो, “तत्काललाई १५ शैय्या थप्नुपर्ने छ ।” आइसीयू कक्षमा शैय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन् । अस्पतालले आइसीयूमा शैय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ ।

आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन् । त्यसअघि १३ भेन्टिलेटर आएका थिए । अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शैय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन् ।

“मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शैय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भन्नुभयो, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उहाँको भनाइ छ ।