३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण
अ+ अ-

झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ ।

अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् । महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गएको हो ।

धामको मूल मन्दिर दक्षिणतिर पार्वती माताको भव्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो । बिर्तामोड नगरपालिका–३ निवासी कमल बस्नेत र झुमा बस्नेतले पार्वती मन्दिर र शिवलिङ्ग रु एक करोड ५० लाखको निजी लगानीमा निर्माण गरिदिनुभएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

“धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो”, जोशीले भन्नुभयो, “हामी दाताको खोजीमा थियौँ । त्यही बेला बस्नेत दम्पती आउनुभयो र आफ्ना बुबाआमाको स्मृतिमा बनाउँछौँ भन्नुभयो ।” नवनिर्मित संरचना मन्दिरलाई हस्तान्तरण भइसकेको छ ।

अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो । अब शिवको मन्दिर (मूल मन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न हुने गरेको जोशीले बताउनुभयो । शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ । पार्वती मन्दिरको छानो पेगोडा शैलीमै निर्मित छ ।

विसं २०२२ मा एउटा हात सूर्य भगवान्लाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरूप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो ।

काठमाडौँको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि चार वटा ढोका छन् । अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरू, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकूल–पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका गाईका आकर्षक मूर्तिहरू मन्दिर परिसरमा स्थापना गरिएका छन् ।

धामको गुरुयोजनाअन्तर्गतको संरचना निर्माणमा रु एक अर्बको लगानी चाहिने धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । “गुरुयोजनामा समावेश गरिएका संरचना अब बनाइने छ”, अध्यक्ष गट्टानी भन्नुहुन्छ, “धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी तीन भागमा बाँडिएको छ । जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरूपमा निर्माण भइसकेको छ ।”

धार्मिक क्षेत्रअन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ । धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट रु छ लाख ५० हजार र कोशी प्रदेश सरकारको रु १५ लाख खर्च भएको छ । आवासीय क्षेत्रमा गुरुकूल भवन निर्माण भए तापनि सुरक्षा चौकी, सङ्ग्रहालय, चमेना गृह र खानेपानी ट्याङ्की निर्माण भएको छैन । पर्यटकीय क्षेत्रमा पानीको फोहोरासहितको आकर्षक बगैँचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भएता पनि स्रोतको अभावमा यो बन्न सकेको छैन ।

सात तलाको आधुनिक अतिथि सदन निर्माणका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानी बताउनुहुन्छ । धाम क्षेत्र साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । दश कठ्ठाको पोखरी छ । विसं २०५५ को हुलाक टिकटमा यो धामको चित्र प्रकाशित भएको छ । मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटक आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताउनुभयो । मन्दिरको भेटी र दाताको चन्दा नै आन्तरिक स्रोत रहेको छ । रासस