• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

छ बाघको उद्धार



फाईल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ ।

निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उहाँले जानकारी दिनुभया ।

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुईवटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो । जसमध्ये दुईवटा उपचारका क्रममा मरेको, चार वटाको आनिवानिमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो । यस वर्ष उद्धार गरिएका बाघमध्ये दुईवटा पोथी र पाँचवटा भाले रहेका छन् ।

निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईवटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् ।रासस