१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: प्रदीप यादव



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाईदा नपुग्ने उहाँको भनाई थियो । आईतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकीर समेत गर्नु भयो ।

उहाँले संसद अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताउनु भयो । प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नु भयो, ‘मुलुकलाई बन्धक बनाएर देशको अर्थतन्त्र धरासायी भएको बेलामा यसरी संसदलाई अवरुद्ध पारेर अहिले मुलुकले निकास पाउँदैन । झन मुलुक संकटमा फस्दै जान्छ । त्यसकारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन । संसदमा बहस गरेर समस्या समाधान हुन्छ । कुनै पनि इस्यु छ भने, कुनै पनि मुद्धा छ भने, कुनै पनि विषय छ भने संसदमा निर्धक्क राख्नुपर्छ । त्यो दलले आ–आफ्नो कुरा राख्नु पर्छ । र, त्यो समस्याको समाधान निकाल्नु पर्छ । संसदलाई बन्धक बनाएर, संसदलाई अवरुद्ध गरेर यो समस्याको समाधान हुँदैन । फेरी प्रमुख प्रतिपक्षलाई एउटा विज्ञप्तीमा कुरा मिलेन रे । चित्त बुझेन । प्रधानमन्त्री सचिवालयले जुन विज्ञप्ती निकालेको छ । त्यसको प्रमुख प्रतिपक्षको चित्त बुझेको छैन । त्यसैकारण आज पनि हाउस अवरुद्ध भयो । विज्ञप्तीको कुरा होस् वा सम्माननीय प्रधानमन्त्रीजीको जुन अभिव्यक्तिको कुरा आईराखेको छ । संसदमा जव प्रधानमन्त्रीजीले भनिसक्नु भएको छ कि म संसदमा कुरा राख्छु । र, मैले कुरा राखिसकेपछि सबैको चित्त बुझछ भने उहाँको विश्वास छ । त्यसकारण संसदमा त कुरा सुन्नु पर्छ ।

अव संसदमा कुरा नसुनिकन विज्ञप्तीको कुरा गरेर कसलाई फाईदा हुन्छ ? बताउनुस्त । प्रमुख प्रतिपक्षलाई फाईदा हुन्छ कि सत्ता पक्षलाई फाईदा हुन्छ ? घाटा त मुलुकलाई भयो । घाटा त नागरिकलाई हो । जुन नागरिकले मत दिएर हामीलाई जिताएर पठाएको छ । यस्तै नाटक गर्नका लागि ? कि काम गर्नका लागि ? संसद त जनताको न्यायको मन्दिर हो । यहाँबाट जनताले न्याय पाउँछ । हामी काम गर्ने बेलामा अव प्रत्येक दिन आउने अनि जाने । कि हाउस एक महिना, डेढ महिनाका लागि बन्द गर्नुपर्छ निर्वाचन क्षेत्रमा जाऊ ,। त्यहाँ गएर आफ्नो काम गरौं । आज मेरो निर्वाचन क्षेत्र वीरगंजमा जाने प्लान थियो । आज फेरी संसद अवरुद्ध भयो । त्यसकारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन । २०७४ सालमा म सांसद भएर आएको छु । त्यतिखेर काँग्रेस प्रमुख प्रतिपक्ष थियो । यति असहज उसले गरेन ।’

प्रमुख सचेतक यादवले संसद अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराउनु भयो ।