२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमसुङ र लुलाङ बर्खा यातायात सञ्जालबाट बिच्छेद



फाईल फोटो
अ+ अ-

म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ ।

गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताउनुभयो ।

“पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै महिना सहज र सुरक्षितरूपमा यातायात सेवा नपाइने भयो”, गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले शनिबार लमसुङमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा खोरियाका मोतीप्रसाद पाइजाले भन्नुभयो, “कालुङखोला, महखोला र दरखोलामा जतिसक्दो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।”

खोरियाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुँदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तीव्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए । लुलाङमा दुई सय ५० भन्दा बढी घरधुरीको बसोबास छ ।

यसैगरी गाईगोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन र औषधिको व्यवस्था, भनेको समयमा कृषि प्राविधिकको सेवा उपलब्ध गराउन स्थानीय कृष्णबहादुर गौचनले माग गर्नुभयो ।

लुलाङका कृष्ण विकले एकै व्यक्तिले धेरैपटक एउटै उपभोक्ता समितिको नेतृत्व गर्न नपाउने नीतिगत व्यवस्था गरेर सबैले अवसर पाउने व्यवस्था मिलाउन सुझाव दिनुभयो । लुलाङकै बलमान विकले लागत अनुमान भूगोलअनुसार नहुँदा दुर्गमका उपभोक्ता समिति ढुवानी भाडाका कारण मर्का र समस्यामा परेका बताउनुभयो ।

लुलाङकी रतिमा विकले स्वास्थ्य संस्था टाढा हुँदा सेवा लिन असहज भएको र राजकुमार विकले बिग्रिएको प्रिन्टर नबनाउँदा वडा कार्यालयबाट जन्मदर्ता गर्न समस्या भएको गुनासो गर्नुभयो । खकप्रसाद विकले लुलाङमा खेलमैदान नहुँदा विद्यालयमा गएर खेल्दा विद्यार्थीको पढाइमा असर परेको बताउनुभयो ।

स्थानीयवासीले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष अकप्रसाद विक र वडा सचिव गिरिराज शर्माले जवाफ दिनुका साथै प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका अध्यक्ष पुनले यसपालि लुलाङ हुँदै गुर्जा जोड्ने सडकलाई सङ्घ, प्रदेश र पालिकाबाट रु दुई–दुई करोड, ढोरपाटन जोड्ने सडकलाई डेढ करोड, दरवाङ–मुना जोड्ने सडकलाई रु पाँच करोड र लमसुङको दरखोलामा मोटरेबल बनाउन प्रदेशबाट रु ८० लाख छुट्टिएको जानकारी दिनुभयो । लमसुङ पहिरो नियन्त्रणका लागि रु एक करोड विनियोजन भएको जानकारी दिनुभयो ।

“गुर्जा र ढोरपाटनलाई सडक सञ्जालले जोड्ने योजनालाई तीनै तहको सरकारले प्राथमिकता दिएका छौँ, आएका योजना कार्यान्वयन भयो भने धेरै सुधार र सहज हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ सडक बनाउने भन्दा पनि अब बनेका सडकलाई स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकताका साथ काम गर्छौँ । सङ्घ र प्रदेशबाट भित्रिएका आयोजना कार्यान्वयन गराउन सबै जुट्नुपर्छ ।”

उपाध्यक्ष पुनले केही उपभोक्ता समितिले गैरजिम्मेवार र लापरवाही गरेका, पालिकाको आफ्नै दररेट बनाउन लागिएको, कृषि र भेटेरेनरीका प्राविधिकलाई वडामै बसेर नियमित सेवा दिन लगाउने, लम्पी स्किनविरुद्धको औषधिसहित प्राविधिक परिचालन गरेको र सडकलाई व्यवस्थित बनाउन केन्द्रित भएको बताउनुभयो । वडा कार्यालयको प्रिन्टर मर्मत र कम्युटरमार्फत सेवा दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

वडाध्यक्ष विकले धेरै मेहनतपछि लुलाङमा सडक पुगेको, एक घर एक धारासहितको खानेपानी आयोजना, वडा कार्यालय भवन बनेको र आगामी वर्ष खोरिया र लमसुङमा नेवाः संस्थासँग समन्वय गरेर खानेपानी आयोजना बनाउन लागिएको बताउनुभयो । अबदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने जानकारी गराउँदै लुलाङको खेलमैदान बनाउन रु पाँच लाख विनियोजन भएको बताउनुभयो ।

वडासचिव शर्माले प्रिन्टर मर्मत गर्ने आर्थिक स्रोतको कमीले वडामा जन्मदर्ता गर्न नसकिएको र पालिकामा गएर अनलाइन दर्ता गराउनुपरेको बताउनुभयो । उहाँले केही योजना तथा कार्यक्रम सङ्घीय सरकारले बजेट कटौती गरेपछि कार्यान्वयन नभएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष पुनले पाँचकोठे, एकतले वडा कार्यालय भवन शुभारम्भ गर्नुभएको थियो ।-रासस