• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पीएसएल टिम मुल्तान सुल्तान्सका मालिकले आफैंलाई गोली हानी आत्महत्या गरे



एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) फ्रेन्चाइज मुल्तान सुल्तान्सका मालिक आलमगीर तरिनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । लाहोरको गुलबर्ग क्षेत्रमा रहेको उनको घरमा ६३ वर्षीय व्यापारीको शव फेला परेको थियो । उनको टोलीको कप्तानी पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले गरेका छन् ।

आलमगीर पाकिस्तानको दक्षिणी पञ्जाबमा पानी शुद्धीकरणको व्यवसाय गर्थे । ६३ वर्षीय आलमगीर अमेरिकाको येल विश्वविद्यालयका विद्यार्थी पनि थिए । पाकिस्तानी मिडियाका अनुसार उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

मुल्तान सुल्तान्सका सीईओ हैदर अजहरले यो कुराको पुष्टि गरेका छन् । अजहरले तरीनको परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन् । अजहरले लेखेका छन्, ‘आलमगीर तरिन हाम्रो टोलीका विशेष सदस्य हुनुहुन्थ्यो । उहाँको आकस्मिक र असामयिक निधनले हामी मर्माहत भएका छौं । हाम्रो प्रार्थना यस कठिन समयमा उहाँको परिवारसँग छ ।’

आलमगीरले आफ्नो भतिजा अली खान तरिनसँग २०१८ मा सुल्तान्स फ्रेन्चाइजी किनेका थिए । तरीन परिवार लामो समयदेखि दक्षिण पञ्जाबमा बस्दै आएको छ । जसको राजधानी मुल्तान हो । २०२१ मा, आलमगीरले आफ्नो भतिजाको शेयर खरिद गरेर टोलीको पूर्ण स्वामित्व लिए ।

मुल्तान सुल्तान्सले २०२१ मा पहिलो पटक पीएसएलको उपाधि जितेको थियो । टोलीले फाइनलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गरेको थियो ।