२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानीगाउँमा घरैपिच्छे बाख्रापालन



अ+ अ-

गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पाल्नुभएको छ ।

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिनुभएको छ । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताउनुभयो ।

“विदेशबाट फर्किएपछि रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उहाँले भन्नुभयो । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआउनुभएको छ । उहाँले सुन्तलाका तीन सय बिरुवासमेत लगाउनुभएको छ । “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताउनुभयो । “मेरै बाटो पछ्याएर गाउँका अरुले बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उहाँले भन्नुभयो । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उहाँको अनुभव छ ।

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भन्नुभयो । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छाँै”, राम्जालीले भन्नुभयो ।

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताउनुभयो । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभयो ।- रासस