• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे

बाँकेमा पर्याप्त वर्षाद् नहुँदा रोपाइँ भएन



तस्बिर: रासस

राँझा । बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ ।

जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका–१ का अध्यक्ष मोहम्मद रजा राईले बताउनुभयो । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नेदेखि रापाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिनुभयो । सिँचाइको व्यवस्था नभएकोले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “प्रकृतिले पनि ठगिरहेको छ, धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दु:खमाथि दु:ख झेल्नुपर्ने बाध्यता छ ।”, उहाँले भन्नुभयो ।

बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा २५ प्रतिशत मात्रै रोपाईँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यसपटक हालसम्म पनि आवश्यकपर्ने वर्षा नभएकोले सबैतिर रोपाइँ हुनसकेको छैन । हालसम्म भएको २५ प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरी र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी बिशाल यादवले जानकारी दिनुभयो ।

बाँकेका आठ स्थानीय तहमध्ये अहिलेसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख अहमदको भनाई छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको छ । यो वर्ष वर्षा नभएका कारण बाँके जिल्लामा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ । रासस