२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिशयनी एकादशी: कालीगण्डकीमा स्नान गर्नेको भीड



तस्बिर: रासस
अ+ अ-

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीका बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

जिल्लाका प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणी, पुर्तिघाट, गोपाङ, नयाँपुललगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको हो । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमस्थलका रूपमा रहेको मोदीवेणीघाटमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुको घुइँचो लागेको छ ।

त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा साविक धवलागिरि, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा–टाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजाराँैको सङ्ख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पाल्पालगायत जिल्लाबाट श्रद्धालु आएका छन् ।

तस्बिर: रासस

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ ।

हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर–घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन पनि रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । रासस