२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ हुदैं



अ+ अ-

काठमाडौं । पोखरामा आज देखि नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’सुरु हुदैछ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना हुँदैछ ।

यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एसियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिने गरी बनाइएका डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा छिटो पार गर्ने टोली विजेता बन्नेछ ।

बोट रेस र फेस्टिभलमा सहभागिताका लागि चिनियाँ टोली पोखरा आइसकेको छ । चिनियाँ टोली बुधबार चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार फेवातालमा दुई सय र पाँच सय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिष्पर्धामा नेपालबाट नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन ९एनआरसीए०, चाइना नेपाल फ्रेन्डसीप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन र पोखरा महानगरपालिकाको टिम रहेको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीमा हस्ताक्षर भएको थियो ।

यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बोट रेसको आवश्यक सम्पूर्ण तयारी सकिएको छ । दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

रेसका लागि चीनको केरुङनाका हुँदै आठवटा विशेष खालका डुङ्गा तथा आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम साता पोखरा आएर अभ्यास गरेका थिए ।

प्रतियोगिताको तयारीका लागि आज बिहान चिनियाँ र नेपाली टोलीले फेवातालमा अभ्यास प्रशिक्षण गरेका छन् । दुई सय र पाँच सय मिटरमा दुई विधामा प्रतिस्पर्धा हुने नेपाल र्याफ्टिङ तथा कायाकिङका राष्ट्रिय प्रशिक्षक निमबहादुर मगरले बताउनुभयो ।