काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीबीच छलफल भएको छ। शुक्रबार बिहान अध्यक्ष यादव प्रदेश २ सरकार फेरबदल गर्ने विषयमा बानेश्वरस्थित निधीको निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष जाने हल्ला चलिरहेका वेला जसपा अध्यक्ष यादव निधी निवासमा पुगेर कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गरेका हुन।
कांग्रेस उपभापति निधिले प्रदेश २ मा मुख्यमन्त्री दिन प्रस्ताव गरेका छन् । प्रदेश २ मा लालबाबु राउतको नेतृत्वमा जसपाको सरकार छ।
केन्द्रमा जसपा एउटै भए पनि प्रदेश २ को संसद्मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बेग्लाबेग्लै छन्। समाजवादी पार्टीका राउतलाई राष्ट्रिय जनता पार्टीले समर्थन जनाइरहेको छ।
अहिले जसपामा देखिएको विवादका कारण प्रदेश २ सरकार संकटमा पर्न लागेको छ। राजपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री राउत अल्मतमा पर्छन्।
त्यसैले जसपा अध्यक्ष यादवले सरकारमा सहभागी हुनका लागि कांग्रेस उपसभापति निधीलाई प्रस्ताव गरेका हुन्।
प्रदेश २ को प्रदेश सभामा १०७ सदस्य छन्। जसमा समाजवादीका ३०, राजपाका २५, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, नेकपा ९माओवादी केन्द्र०का ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सदस्य छन्।











