९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

सामुन्द्रिक तट सम्झाउने नारायणी किनार
अ अ+ अ-

चितवन । आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।”

उहाँहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको छ । समुन्द्रिक किनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ ।

नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ । सोही किनारमा बनेको फुटपाथमा आज बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदी किनारको विदेशको झल्को दिने गरी बनेकामा प्रशंसा गरिरहेका थिए । स्थानीय दियालो रोडका बटुकलाल श्रेष्ठले नदी किनारको विकास देखेर खुसी प्रकट गर्नुभयो ।

सँगै रहनुभएकी विजया श्रेष्ठले भन्नुभयो, “पहिला फोहर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ ।” सर्लाहीका मनसारी विकलाई नारायणी किनार पहिलाको भन्दा अर्कै भएको महसुस भयो । उहाँले भन्नुभयो, “पहिले पनि आएको थिएँ, अहिले अचम्मै भएछ ।” स्थानीय श्यामलाल श्रेष्ठले नदी किनार निकै राम्रो भएको भन्दै सवारीसाधन भने आउन दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “नदी किनारले रुप फेरेको छ, यसलाई अझै राम्रो बनाउनु पर्छ ।”

सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ । सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पुर्‍याएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ । नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको छ । रु १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको छ ।

खुट्किलाको सतह दुई मिटर चौडा छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा छन् । माथिल्लो तह चार दशमलव पाँच मिटर फराकिलो बनेको छ । फराकिलो ठाउँमा मानिस बेलुका र बिहान हिँडडुल गर्ने गरेका छन् ।

सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिएको छ । पाँच मिटरको फरकमा बिरुवा लगाइएको छ । महानगरपालिकाका इञ्जीनीयर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत दुई दशमलव चार किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन् ।

रु छ करोड ५० लाख बजेटमा सो काम भइरहेको छ । यो काम ९० प्रतिशत सकिएको उहाँको भनाइ छ । यसै ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेक रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम भएको हो । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिँदै छ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहने छन् ।

नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ । आरती क्षेत्र वरपर बत्ती राखिने छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले झण्डै रु दुई करोडको लागतमा कामको तयारी गरेको छ । बोलपत्र आह्वान भइसकेकाले छिट्टै काम सुरु हुँदैछ । महानगरपालिकाका प्रमुख रेनु दाहालले विदेश जाँदा समुन्द्रिक किनारमा देखिएको सौन्दर्यकरणलाई मध्यनजर गर्दै यहाँ त्यही मोडेलमा विकास गरिएको बताउनुभयो ।

आफू पहिलो पटक प्रमुख भएकै समयदेखि यो काम अघि बढाइएको जनाउँदै उहाँले देख्ने गरी काम हुन थालेको बताउनुभयो । नारायणी किनारलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्यकरण गरी पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास गरिएको उहाँको भनाइ छ ।

दाहालले भन्नुभयो, “महानगरको गौरवको आयोजनाका रुपमा लिएर यसलाई गुरुयोजना बनाइ काम गरिरहेका छौंँ ।” यसलाई अझै व्यवस्थित बनाउने गरी काम हुने उहाँको भनाइ छ । आउँदा दिनमा गुरुयोजनाअनुसारको काम सम्पन्न हुँदै गर्दा नदी किनार थप आकर्षक बन्ने उहाँले जानकारी दिनुभयो । आजभोलि बिहानबेलुका नदी किनारमा स्थानीयको निकै भीड हुने गरेको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र समुन्द्रिक किनार हुने जनाउँदै नारायणी नदीलाई उपयोग गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै छ ।” रासस