१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।

मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।”

आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ ।

गत मङ्गलबारदेखि उपत्यकामा पानी पुन: ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा एक तिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ ।”

उपत्यकामा पहिलोपटक मेलम्चीको पानी विसं २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो । जुन अहिलेसम्म पनि पुन:निर्माण भइसकेको छैन । गत दुई वर्ष पनि हिउँदमा मात्रै उपत्यकामा पानी ल्याइएको थियो । पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना ‘हेडबर्क’ को क्षति भएपछि अहिले अस्थायीरुपमा पानी पथान्तरण गरेर ल्याइएको छ । वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरुमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ ।

उपत्यकामा मेलम्चीको पानीका कारण हिउँदमा पानीको अभाव कम भएको छ । उपत्यकाको भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ । चक्रपथ बाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिच्छाउने काम भइरहेको छ ।