• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन

साविक विजेता मछिन्द्रलाई उपाधि लक्ष्यमा धक्का



काठमाडौँ । विभागीय टोली नेपाल पुलिसबिरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मछिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा आईतवार सम्पन्न खेलमा नेपाल पुलिस क्लवसँग २–१ ले पराजित भएपछि मछिन्द्र फुटबल क्लवको उपाधि लक्ष्यमा धक्का लागेको हो । मछिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो । निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मछिन्द्रले शुरुवाती अग्रता बनाउन सफल भएको थियो । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरिह बन्न पुग्यो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए ।

राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । त्यसको १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पु¥याएका थिए । बाँकी समयमा मछिन्द्र खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो पुलिसको रक्षापंक्तिलाई तोड्न असफल रह्यो ।

जितसँगै पुलिसले लिगमा मच्छिन्द्रविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा मछिन्द्र २–१ ले विजयी भएको थियो । पछिल्ला पाँचौं खेलमा सुखद् नतिजा निकालेको पुलिसले २४ खेलबाट ३७ अंक भएको छ । हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ ।

लिग अन्तर्गत आईतवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लवले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित खेलेका थिए । दोस्रो हाफको ५२औं मिनेटमा हिमालयन शेर्पाले दिवस उराउको गोलबाट अग्रता निकाले पनि ५५औं मिनेटमा दिपेश आले मगरले गोल फर्काउँदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेनन् र दुवैले अंक बाँड्न बाध्य भए । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

यस्तै संकटा क्लवले रेलिगेसन क्षेत्रको एफसी खुमलटारमाथि ३–० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आईतवार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे । जितसँगै संकटाले खुमलटारबिरुद्धका दुवै लेगमा सुखद् नतिजा हात पारेको छ । यस अघि पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । पराजय व्यहोरेको खुमलटारको समान खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा यथावत छ ।