१ असार २०८३, सोमबार
,
Latest
ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती जलविद्युत् : आयोजना अन्तिम चरणमा



अ+ अ-

कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन९प्रसारण लाइन० निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत्् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटनै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।’

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताउनुभयो । आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ । उहाँले भन्नुभयो, ‘कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।’

सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताउनुभयो । त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ । ‘पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ’, घिमिरेले भन्नुभयो, ‘सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ ।’

सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताउनुभयो ।

आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।-रासस