६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न नागरिकलाई नि:शुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत नि:शुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ ।

शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको नि:शुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो ।

उहाँले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई नि:शुल्क उपचार गर्ने प्रावधान राखिएको भएपनि सो प्रावधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले अनुगमनका क्रममा अस्पतालहरुसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई नि:शुल्क उपचार गरेको विवरण पनि माग गर्नुभयो ।

मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरुप १० प्रतिशत नि:शुल्क उपचार गर्न निर्देशन पनि दिनुभयो । उहाँले नि:शुल्क उपचार दिने र नदिने अस्पतालहरुलाई सरकारले सोही अनुरुप हेर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले अस्पतालमा शैय्या उपलब्ध छ, छैन भन्नेपनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरुले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विपन्न विरामीहरुलाई अथवा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई क्राइटएरिया हेरेर अथवा त्यो कुरा बुझेर १० प्रतिशत सबै अस्पतालहरुले नि:शुल्क उपचार गरिदिनुपर्ने अस्पतालहरुले स्वीकृति लिँदा त्यो प्रावधान नेपाल सरकारले राखेको छ । तर व्यवहारमा त्यो लागू भएको छैन भन्ने हामीलाई गुुनासो आएको मात्रै होइन अलिअलि जानकारी मलाई पनि छ । त्यसकारणले गर्दाखेरी हामीले आजबाट विशेषगरी यो सेवा, सुविधा विपन्नले पाएका छन् कि छैनन् ? वा दश प्रतिशत पाएका छन् कि छैनन् ? त्यो हामी हेर्छौं । र हामीले एक आर्थिक वर्षकै तथ्यांक हामी माग्छौँ । त्यो सेवा, सुविधा कुन–कुन अस्पतालले दियो ? कुन–कुनले दिएन ? अझ चाहिएको भन्दापनि, सम्झौता भएको भन्दापनि बढी दिएको रहेछ भने हामी त्यसै किसिमले हेर्छौ ।

गरेको छैन भने हामी त्यही अनुसारले हेर्छौ । ज–जसले त्यो दिएको छैन मन्त्रालयले कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौ । र जनताले पाउने त्यो अधिकार दिलाएर छोड्छौँ । लाइसेन्स लिने बेलामा यो व्यवस्था गरेको कुरालाई स्वीकार गरिएको छ । त्यो भएको छैन भने यसलाई व्यवस्थापन गर्ने विधिसम्मत् चलाउने काम हामी गर्छौं । यसले गर्दा विपन्न बिरामीहरुलाई, आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई बेड नपाएर भौँतारिनुपर्ने, मन्त्रीले, ठुलो हाकिमले, माननीयले वा कसैले ठूलाबडा मान्छेले सिफारिस गर्दा बेडा पाउने, होइन भने नपाउने जुन परम्परा थियो धेरै लामो समयदेखि । त्यो हामी यो कार्यकालबाट तोडिदिन्छौँ । मन्त्रीको सिफारिस भएपनि एउटै । सर्वसाधारणको भएपनि एउटै । सिफारिस पनि चाहिएन । खालि छ भने लाने, छैन भने लानु परेन । वेबसाइटमा हुन्छ । वेवसाइटमा राखीएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं ।’

उहाँले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरुलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिनुभएको थियो । उहाँले अस्पताल अनुगमनको काम जारी राख्ने बताउनु भयो ।