क्यालिफोर्नियाः बेलायतको राजपरिवार त्यागेर अमेरिकामा बसोबास गरिरहेका राजकुमार ह्यारी र पत्नी मेघनबाट दोस्रो सन्तानको जन्म भएको छ । मेघनले क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।
मेघनले क्यालिफोर्नियाको सान्ता बार्बरा कटेज हस्पिटलमा छोरीलाई शुक्रबार बिहान ११.४० बजे जन्म दिएकी ह्यारीले जारी गरेको वक्तव्यमा उल्लेख छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
छोरीको नाम “लिलिबेट डायना माउन्टबेटन–विन्डसर” राखिएको छ । बेलायतकी महारानी एलिजाबेथलाई राजप्रासादभित्र “लिलि” उपनामले बोलाइने गरिन्छ । ह्यारी र मेघनले पनि छोरीको नाम ह्यारीकी हजुरआमा एलिजाबेथ द्वितीया र आमा डायनाको नाम जोडेर लिलिबेट डायना राखेका हुन् ।
लिली अब बेलायती राजगद्दीकी आठौं उत्तराधिकारी बनेकी छिन् ।
यद्यपी यो नाम जुराएको बारेमा बेलायती बकिङघम प्यालेसले कुनै प्रतिक्रिया जनाएको छैन, तर लिलीको जन्म भएकामा एलिजाबेथ, युवराज चाल्र्स, ह्यारीका दाजु विलियम समेतका राजपरिवारका सबै सदस्य निकै प्रसन्न भएको राजदरबारका प्रवक्ताले जनाएका छन् ।
ह्यारी र मेघनको विवाह सन् २०१८ को मे महिनामा भएको थियो । विवाह भएको एक वर्षपछि नै पहिलो छोराको जन्म भएको थियो । उनको नाम आर्ची रहेको छ ।