१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’



अ+ अ-

बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ । छब्बीस वर्षीया उहाँले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गर्नुभयो ।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गर्नुभएकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गर्नुभयो । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहनुभएकी उहाँ गत महिना नै सगरमाथा क्षेत्र पुग्नुभएको थियो । उहाँ यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गर्नुभएको थियो । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उहाँ भन्नुहुन्छ । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उहाँले सुनाउनुभयो ।

रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर)आरोहणको प्रयास गर्नुभएको थियो । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उहाँहरू साइपाल चढ्न सक्नुभएन । साइपाल छुने प्रयास असफल भए पनि उहाँको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उहाँ भन्नुहुन्छ, “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।” मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दु:ख खर्च जुटाउनमा लाग्यो । उहाँले भन्नुभयो, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उहाँले बताउनुभयो । रासस