२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य



अ+ अ-

काठमाडौँ । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।

सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुईवटा संस्थानको कारोबार शून्य रहेको छ ।

हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै रहेको छ ।

समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।

गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३ दशमलव ६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी छ सय १० दशमलव ९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा दुई दशमलव चार प्रतिशतले कमी आएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय रू ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८र७९ मा ३६ दशमलव २२ प्रतिशतले वृद्धि भई रू ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४ दशमलव १५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा रू १ अर्ब ५४ करोड २० लाख कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा आठ दशमलव ४३ प्रतिशतले कम हो ।

सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले कमी आई रू १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा एक सय ७६ दशमलव ८ प्रतिशतले बढेर रू ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई रू ५२ अर्ब ४० करोड ७८ लाख पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा शेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले वृद्धि भई रू सात खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ । समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ९७ प्रतिशतले वृद्धि भई रू ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा शेयर लगानी चार दशमलव ५४ प्रतिशतले वृद्धि भई रू ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४ दशमलव ४९ प्रतिशतले वृद्धि भई रू २ खर्व ८९ अर्व २३ करोड ७१ लाख पुगेको छ ।