• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

लुम्बिनी केबलकार जेठ १५ गतेदेखि संचालन हुने, बसन्तपुरको कामाख्या मन्दिरमा आजदेखि एकहप्ते पुजा शुरु



बुटवल । बुटवलको लुम्बिनी केबलकारको यहिँ जेठ १५ गतेदेखि संचालनमा आउने भएको छ ।

आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिकरुपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको छ ।
भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।

कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।

सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् ।

कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।

सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।

केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।

मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले बताए ।